अनुदान दिन थालेपछि दूध उत्पादन बढ्याे

 साउन ३२, २०८० बिहीबार २०:३१:२० | रासस
unn.prixa.net

फाइल तस्बिर

रुकुम पश्चिम – पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको थियो । दूधमा प्रतिलिटर पाँच रुपैयाँका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७९/८० मा ४५ दलित, ४६ जनजाति र अन्य पाँच सय ४० गरेर छ सय ३१ जना किसानलाई दूधमा अनुदान दिइएको थियो । निवेदन दिएका छ सय ३१ जना किसानले अनुदान पाएको कार्यालयका निमित्त प्रमुख शर्माले जानकारी दिनुभयो । दूध बिक्री गरेका आधारमा किसानले आठ सय ७५ देखि ४५ हजार रुपैयाासम्म प्रोत्साहन रकम पाएको उहाँको भनाइ थियो ।

कार्यालयले दिने अनुदान रकम किसानको खातामा पठाउने गरिएको छ । अनुदानअन्तर्गत छ सय ३१ जना किसानले ३५ लाख ५८ हजार रुपैयाँ प्राप्त गरेका थिए । जिल्लामा उत्पादन भएको केही दूध जिल्ला सदरमुकाम खलङ्गा, सोलावाङलगायत स्थानीय बजारमा बिक्री हुने गरेको छ भने बाँकी दूध रुकुम पूर्व, सल्यान, नेपालगञ्जमा समेत निकासी हुने गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा किसानले राम्रैसँग दूध उत्पादन गर्दै आएका छन् । आठबीसकोट नगरपालिका र बाँँफीकोट गाउँपालिकामा भने कम दूध उत्पादन हुने गरेको निमित्त कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

दूध सङ्कलन केन्द्र, डेरी, पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपलब्ध विवरणअनुसार जिल्लामा ५४ लाख ४४ हजार छ सय लिटर दूध उत्पादन भएको देखिन्छ । गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकर्ड भने नभएकाले योभन्दा धेरै दूध जिल्लामा उत्पादन हुने गरेको कार्यालयको भनाइ छ ।

किसानलाई दूधमा प्रोत्साहन उपलब्ध गराउँदा जिल्लामा अघिल्ला वर्षभन्दा दुई दशमलव ६३ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया