प्रेमबहादुर : लट्ठी टेक्दै झाेला बाेक्दै ९० वर्षमा एक कक्षा !

 भदौ ५, २०८० मंगलबार १२:३५:५१ | रासस
unn.prixa.net

तस्बिर : रासस

दाङ - पिठ्युमा झोला, एक हातमा लट्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमकेका ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा  पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीकाे समय आजभाेलि विद्यालयका बालबालिकासँग बित्छ । 

उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ  । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ शुरु गर्नुभएको हो  । त्यही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ ।  'सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्', उहाँले भन्नुभयो, 'बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।'

घरमा पनि उहाँ नातिहरूसँग बस्दै आउनुभएको छ । उहाँकी श्रीमतीको विसं २०३२ सालमा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उहाँको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनुभएको छ । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ ।  उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । 'सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो', उहाँले भन्नुभयो, 'जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।'

उहाँ पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनुभयो ।

'परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ', उहाँले भन्नुभयो, 'त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।' अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउनुभयो । 

उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्त्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो । 'उहाँ शुरुमा आउँदा अचम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ', उहाँले भन्नुभयो, 'अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।'

विद्यालयले उहाँलाई सम्मान गर्ने योजना बनाएको समेत प्रधानाध्यापक घर्तीले बताउनुभयो । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोसाक लगाउनुपर्ने भएकाले विद्यालय पोसाक पनि किनिदिने योजना बनाएको बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया