विश्वभरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

 भदौ ५, २०८० मंगलबार १७:१६:३९ | रासस
unn.prixa.net

काठमाण्डौ – न्यायालयको नेतृत्व ३१ औँ प्रधानन्यायाधीशका रूपमा आज (मङ्गलवार) देखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । हिजो सोमवार प्रधानन्यायाधीशमा नियुक्त हुनुभएका श्रेष्ठले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँको औपचारिक जिम्मेवारी शुरु भएको हो ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि श्रेष्ठलाई हिजो नै सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

हरिकृष्ण कार्कीले उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट गएको साउन २० गते अवकाश लिनुभएको थियो । त्यसपछि वरिष्ठतम् न्यायाधीशका हैसियतमा श्रेष्ठले न्यायापालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको हो । 

संवैधानिक परिषद्को गएको साउन १८ गते बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।  नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुग्नु भएको हो । न्यायको क्षेत्रमा उहाँको लामो अनुभव छ । 

संसदीय सुनुवाइका क्रममा उहाँले आफूले छिटो, सहज र सुलभ न्यायका लागि मुद्दाको फर्छ्योटमा योजना बनाएर अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । ‘छिटो न्याय दिने उद्देश्यले एक वर्षदेखि शुक्रवार पनि थप दुई घण्टा निःशुल्क काम गरिरहेका छौँ, यो बीचमा मुद्दा फर्छ्योट राम्रो छ’, उहाँले भन्नुभयो ।

सुनुवाइका क्रममा श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता लगायतका अवाञ्छित गतिविधिको नियन्त्रणसम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, ढिलासुस्ती तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न सुक्ष्म अनुगमनकर्ता खटाइ प्रतिवेदन लिने र कारबाही गर्ने प्रणालीको विकास गर्नेलगायतका योजना प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै न्यायाधीश, कर्मचारी आचारसंहिताको कार्यान्वयन एवम् नियुक्ति, सरुवा र बढुवालगायत वृत्ति विकासमा कार्य सम्पादनस्तर, सदाचार र सेवाग्राहीसँगको व्यवहारलाई मुख्य आधार बनाइने, न्यायाधीशको आचरण, निष्ठालगायतका अनुशासनसम्बन्धी विषयलाई न्यायाधीशको नियुक्ति, सरुवा तथा पुरस्कार दण्डसँग आबद्ध गर्दै लैजानेलगायतका कार्ययोजना पेस गर्नुभएको थियो । 

विसं २०१६ असोज २० मा डोटीमा जन्मिनुभएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा पछिल्लो समय काठमाण्डौको कुलेश्वरमा बस्दै आउनुभएको छ । 

कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उहाँ विसं २०३८ चैत २७ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रूपमा अस्थायी नियुक्ति लिनुभएका उहाँले विसं २०४१ पुस ११ गतेदेखि शाखा अधिकृतका रूपमा स्थायी नियुक्ति लिनुभएको थियो । 

श्रेष्ठले विसं २०४५ जेठ ३ गतेदेखि उहाँले न्यायाधीशका रूपमा दार्चुला जिल्ला अदालतमा काम प्रारम्भ गर्नुभएको थियो । त्यसपछि डडेलधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाण्डौमा जिल्ला न्यायाधीशका रूपमा काम गरेको लामो अनुभव छ । उहाँले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा विसं २०६२ चैत १० गतेदेखि काम शुरु गर्नुभएको थियो । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा उहाँले बागलुङ इजलासमा काम गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा पनि न्यायाधीशका रूपमा काम गर्नुभयो ।

श्रेष्ठ विसं २०७० साउन ८ गते पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश हुनुभएको थियो भने २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीशका रूपमा काम गर्नुभयो । 

उहाँले सन् २००४ मा गोरखा दक्षिण बाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिण बाहु चौथो प्राप्त गर्नुभएको थियो ।

विसं २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम गर्न थाल्नुभएका उहाँले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीशका रूपमा काम गरिरहनुभएको थियो । 

प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष छ । 

उहाँ विसं २०८१ असोज १९ गतेपछि अनिवार्य अवकाशमा जानुहुनेछ । प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको नेतृत्व गरिरहँदा उहाँसमक्ष मुद्दा छिटो फर्छ्योट, पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन, बिचौलियको अन्त्य, आम सेवाग्राहीलाई न्यायालयप्रतिको विश्वास जगाउनुपर्नेलगायत चुनौती छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया