चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

 भदौ ६, २०८० बुधबार ८:५१:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । 

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ मा ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो ।

विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र न म्बर ३ का सांसद विक्रम पाण्डेले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको उहाँले बताउनुभयो ।

‘अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ,’ उहाँले भन्नुभयो, ‘अब बहुवर्षीय योजना अन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन हुनेछ ।’

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले सर्भेको काम सम्पन्न गरेर डिजाइनको काम गरिरहेको सांसद पाण्डेले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको कसराबाट रिउसम्म ११ किलोमिटर कच्ची सडक रहेको छ ।

पुल निर्माण भएसँगै भरतपुर र माडी जोड्ने सडकको दूरी निकुञ्जमा मात्रै तीन दशमलव नौ किलोमिटर छोटो हुने उहाँले बताउनुभयो ।

नयाँ पुल निर्माण भएपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासँगै वन्यजन्तुलाई असर नपर्ने उहाँको भनाइ छ । पुल निर्माणसँगै निकुञ्जभित्र कालोपत्रसमेत गरिने छ । 

‘अहिले कच्ची सडक हुँदा त्यस वरपरका बोटबिरुवा र वन्यजन्तुलाई समेत असर परेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि पनि यहाँ कालोपत्र गर्न जरुरी छ ।’

माडी जानका लागि कसरामा पुल निर्माण नहुँदासम्म ध्रुवघाटको बाटो प्रयोग हुने गरेको थियो ।

भरतपुर २३ का वडाध्यक्ष दीपक दबाडीले ठोरीबाट रसुवासम्म नुन बोकेर जाने बाटो यही भएको जानकारी दिनुभयो ।

पुल निर्माण भएसँगै भरतपुर माडी यात्राका लागि सहज हुने उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवघाटमा पुल निर्माणका लागि वन मन्त्रालयले स्वीकृति दिइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुल निर्माणका लागि २०७९ असोजमा मन्त्रालयले स्वीकृति दिएको हो, चाँडै पुल निर्माणको काम अघि बढ्छ ।’

निकुञ्जले वन्यजन्तुमैत्री पूर्वाधार बनाउनका लागि सुझावसमेत पेस गरेको भन्दै पुल निर्माण भए निकुञ्जलाई पनि फाइदा पुग्ने उहाँले बताउनुभयो । 

‘अहिले कसरमा रहेको पुल जीर्ण अवस्थामा छ, पुल साँघुरो भएका कारण दोहोरो गाडी चलाउन मिल्दैन,’ उहाँले भन्नुभयो ।

हुलाकी सडकअन्तर्गत राप्तीमा एउटा पुल आवश्यक रहेको र त्यसमा पनि ध्रुवघाट उपयुक्त देखिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया