कालीगण्डकी नदीको बहाव दुई वर्षयताकै उच्च बिन्दुमा, शालिग्राम शिला डुबानमा

 भदौ ८, २०८० शुक्रबार १३:४४:२६ | रासस
unn.prixa.net

पर्वत - लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च बिन्दुमा पुगेको छ । नदीको सतह दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताउनु भएकाे छ । 

उहाँले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताउनुभयो । अहिलेको पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि गएकाे साउनमा सात दशमलव ४० मिटरको बिन्दुसम्म पुगेको थियो । वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका छन् । 

बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताउनुभयो । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रुपमा क्षति पुगेको छ । 

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने छ । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका नागरिक त्रसित बनेका छन् ।

विगत १४ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो । उहाँले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिनुभयो ।

स्थानीय प्रहरी चौकीका अनुसार अहिलेसम्म पनि पानीको बहाव उच्च छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तलमुनिको सिँढीसम्म पानीको बहाव आइपुगे पनि खतरा भने बजारवासीलाई नरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया