ओलीको उदयसँगै राजनीतिमा गाली, खुट्टा तानातानकाे संस्कृति शुरु भयो : घनश्याम भुसाल

 भदौ ८, २०८० शुक्रबार १५:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा महासचिव भुसालले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानातान, भर्त्सना, गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको आराेप लगाउनुभयाे । उहाँले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा, भर्त्सनामा उत्रिनेहरू आएका उल्लेख गर्नुभयो । ओलीका कारण वाम आन्दोलनको सबै सम्भावना टुटेको भुसालकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘ओली कमरेडको उदय शुरु भएपछि नेपालकाे राजनीतिमा घृणा, निन्दा, खुट्टा तानातान, भर्त्सना, गालीको परम्परा, संस्कृति हाबी हुँदै गयो । अहिले त ओलीजीभन्दा १० हात अघि गएर निन्दा, भर्त्सना गर्नेमा अरू नै आइपुगे । ओलीको प्रवृत्तिको कारणले नेपाली राजनीतिमा, नेपाली वाम आन्दोलनमा पसेको ओली प्रवृत्तिका कारणले सम्भावना टुटेको छ । ओलीजीका कारणले नेकपा एमाले झनै सङ्कटग्रस्त बन्दैछ । सङ्कटग्रस्तलाई पार्टीभित्र बस्न अझ बढी ओलीको भक्ति चाहिन्छ ।’

महासचिव भुसालले सत्ता गठबन्धनमा कांग्रेससँगै आफूहरू रहेपनि कांग्रेस आफूहरूको सिद्धान्त नभएको र गठबन्धन आफूहरूको भाग्य भविष्य नभएकाे दाबी गर्नुभयाे ।

अन्तिम अपडेट: भदौ २६, २०८०

तपाईको प्रतिक्रिया