प्रतिनिधि सभा अन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी दर्ता र पर्सि चुनाव

 भदौ ९, २०८० शनिबार १८:१५:२९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापतिको चुनावका लागि कार्यतालिका सार्वजनिक भएको छ । 

आइतवार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमवार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

‘प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिको चुनावका लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम ९१० बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ,’ प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको चुनाव हुने र त्यसको सूचना सचिवले ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधि सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित भोलि बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ ।

यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची भोलि बेलुका साढे चार बजे प्रकाशन गरिनेछ । यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुने संसद् सचिवालयले जनाएको छ ।

दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले पर्सि प्रस्तुत गर्नुहुनेछ । समर्थकले त्यो प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ ।

प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एकभन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आइतवार सम्ममा सभामुखलाई दिइसक्नुपर्नेछ । तर प्रतिनिधि सभाको सदस्य नरहेका पदेन सदस्यले भने चुनावमा मत दिन पाउनुहुने छैन ।

समिति सभापतिका लागि एकमात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ । 

प्रस्तावको सूचना एकभन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया