कागबेनी बाढी : झन्डै एक अर्ब रुपैयाँ बराबरकाे क्षति

 भदौ १०, २०८० आइतबार १३:४७:८ | रासस
unn.prixa.net

तस्बिर : रासस

मुस्ताङ - गएकाे साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि एक अर्ब रुपैयाँ बराबरकाे क्षति पुर्याएकाे छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कअनुसार बाढीले कागबेनीमा झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको हाे ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तकोमा आश्रय लिएर बसेका छन् । बाढीले भाैतिक संरचना, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको छ भने स्याउ बगैँचा र सिँचाइ कुलो बगाएकाे छ । 

बाढीले कृषकको ११ रोपनी तीन कट्ठाभन्दा बढी जमिनमा लगाएको स्याउलगायतका फलफूलकाे बाेटमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ६९ वटाभन्दा बढी स्याउकाे बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको छ । 

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा क्षति पुगेको उहाँले बताउनुभयो । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिनुभयो ।

कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलोमा बाढीले क्षति गरेको छ । उहाँका अनुसार ३६ रोपनी जग्गामा सिँचाइ गरिने कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्र्याक्टरसमेत बाढीले बगाएको धामीले बताउनु भयाे । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको धामीको भनाइ छ ।

बाढीले  पशुचाैपाया बगाउँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशुशाखा प्रमुख समीक्षा कठायतले जानकारी दिनुभयो । बाढीले २३ वटा गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताउनुभयो । 

बाढीले नगद, सामान र अन्य भाैतिक संरचना बगाउँदा ८१ करोड ८३ लाख २५ रुपैयाँ बराबरकाे क्षति भएकाे छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी  २१ करोड दुई लाख रुपैयाँ बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । ५० वटा घरमा क्षति पुर्याउँदा ५२ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको नाेक्सानी भएकाे छ । 

२२ वटा घरमा पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको तथ्याङ्कमा उल्लेख छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया