परराष्ट्र नीतिकाे मामिलामा सबै दल एकजुट हुनुपर्छ : ओली

 भदौ ११, २०८० सोमबार १८:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको टिप्पणी गर्नुभएको छ ।

आज सोमवार प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ओलीले परराष्ट्र नीति र व्यवहारलाई लिएर सरकारको गतिविधिबारे गम्भीर प्रश्नहरू उठेको बताउनुभएको हो । उहाँले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने अवस्था आएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको परराष्ट्र नीति र व्यवहारको तालमेल नभएको र अस्पष्टताबारे बजारमा गम्भीर प्रश्नहरू उठेका छन् । सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भूगोलको रक्षा, भौगोलिक अखण्डता, राष्ट्रिय हितको सवालमा प्रश्न उठिरहेका छन् । हाम्रो छिमेक सम्बन्ध, क्षेत्रीय सङ्गठन, तिनको प्रभावकारिता, तिनीसँगको हाम्रो सम्बन्ध, हाम्रो भूमिका के, कस्तो भइरहेको छ ? हाम्रो अन्तराष्ट्रिय छवि कस्तो रहेको छ ? छिमेकीका विरुद्ध हामी प्रत्यक्ष वा परोक्ष कुनै हिसाबले पनि गतिविधि गर्दैनाैँ । हाम्रो भूमि कसैका विरुद्ध कसैलाई पनि प्रयोग गर्न दिदैनौँ । यस्ता हाम्रा आधारभूत सिद्धान्तहरूका प्रश्नमा राष्ट्रले एकजुट भएर पुनर्पुष्टि गर्नुपर्ने अवस्था आएको छ । अरू कुरामा प्रतिस्पर्धा हुन्छ तर बाह्य सम्बन्धमा, छिमेक सम्बन्धमा, परराष्ट्र सम्बन्धमा, अन्तर्राष्ट्रिय नीतिको मामिलामा सबै पक्षहरू एकजुट हुन्छन् ।’

अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरूपता ल्याउन र देशको हित हुने गरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सबै दलको सहमतिमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्न सक्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया