ग्लाेबल आईएमईले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्यायाे
मंसिर २४, २०८० आइतबार
काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताउनु भएकाे हाे ।
उहाँले भन्नुभयो, 'देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको शुरूवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । नागरिकसँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।' उहाँले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने दाबी गर्नुभयाे ।
'नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन', उहाँले भन्नुभयो, 'भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।' देशको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औँल्याउँदै उहाँले विकासको मोडल फेर्नुपर्ने बताउनुभयो ।
'परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरूरी छ', उहाँले भन्नुभयो, 'असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।'
सरकारले देश र नागरिकको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उहाँले अब छिट्टै नागरिकले त्यसको प्रतिफल लिन पाउने बताउनुभयो । उहाँले भन्नुभयो, 'कुटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी शुरू भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले नागरिकको बीचमा लैजानुहाेस् ।'