शय्या अभाव, भुइँमै राखेर उपचार

 भदौ १३, २०८० बुधबार २०:३३:३९ | रासस
unn.prixa.net

इलाम – इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भुइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ्गी, ज्वरो र स्क्रब टाइफसका बिरामी बढेपछि शय्या अभाव हुँदा भुइँमै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

अहिले दैनिकजसो ७० देखि ८० को सङ्ख्यामा आकस्मिक कक्षमा बिरामी आउने गरेका आकस्मिक कक्ष इन्चार्ज टीका लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल आउनेमध्ये धेरैजसो डेङ्गी, स्क्रब टाइफस र भाइरल ज्वरोका बिरामी छन् ।

‘जिउ दुख्ने, हात खुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू लिएर धेरैजसो बिरामी आउने गरेका छन्’, लुइँटेलले भन्नुभयो, ‘अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुइँमै भए पनि उपचार गरिरहेका छौँ ।’

अस्पतालको ओपीडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउने गरेका अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक कक्षमा जम्मा ११ शय्या मात्र छन् । ‘आकस्मिक कक्षमा भर्ना भएर आएका बिरामीलाई शय्या नपुगेपछि भुइँमै राखेर सेवा दिइरहेका छौँ’, व्यवस्थापक खतिवडाले भन्नुभयो, ‘ओपीडीमा पनि बिरामीको सङ्ख्या थामिनसक्नु छ । जसोतसो उपचार गरिरहेका छौँ ।’ 

उहाँका अनुसार साउन र भदौ १० गतेसम्ममा जाँच गराउन आउनेमध्ये ४१ जनामा डेङ्गी पुष्टि भएको छ । यही अवधिमा २४ जनामा स्क्रब टाइफस देखिएको छ । ‘यीमध्ये डेङ्गीका १० र स्क्रब टाइफसका पाँच जना बिरामीलाई भर्ना नै गरेर उपचार गराएका छौँ’, उहाँले भन्नुभयो ।

जिल्लाको फाकफोकथुम गाउँपालिकाबाट उपचारका लागि आउनुभएकी माया थेबेले शय्या नपाउँदा उपचारमा असहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ज्वरोले सिकिस्त पारेर अस्पताल आएको भुइँको चिसोले ज्यानै लैजाला जस्तो छ ।’

जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया