उपप्रधानमन्त्री श्रेष्ठसँगकाे भेटमा राजदूत फेन– ‘नेपालीप्रति बेलायतीको गहिरो सद्भाव छ’

 भदौ १५, २०८० शुक्रबार १६:४०:४४ | रासस
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच आज शुक्रवरा गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकाेमा राजदूत फेनलाई बधाई दिँदै राजदूतको कार्यकालको सफलताको शुभकामना दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकाेमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको छ भन्नुभयो । छ दशकको लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली नागरिकले महसुस गर्ने गरी आर्थिक, सामाजिक विकासकाे माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उहाँले बताउनुभयो । यसका लागि नेपालका विकास साझेदारको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकाले यसलाई दिगो बनाउन मैत्रीराष्ट्रको सहयोग थप महत्त्वपूर्ण हुने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको जनाउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्यता रहेको धारणा व्यक्त गर्नुभयो । सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उहाँले दिलाउनुभयो ।

त्यस अवसरमा राजदूत फेनले मैत्री सन्धि भएको सय वर्ष पुगेकाेमा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताउनुभयो । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र त्याे सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया