‘हावा’ मा आलुको बिउ उत्पादन

 भदौ १७, २०८० आइतबार १९:५६:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा रहेकाे खाद्यान्न तथा बिउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’ मा आलुको बिउ उत्पादन थालेको छ । धुलिखेलमा रहेकाे काठमाण्डाै विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि 'एरोपोनिक' अर्थात् हावामा बिउ उत्पादन थालिएको हो ।

यस उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेशिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भन्नुभयो । उहाँका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बिउ बन्दछन् ।

एक बिरुवामा ५० देखि चार सयसम्म बिउ उत्पादन हुने अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रकृतिको बिउ उत्पादन गर्न उद्योगमा एक करोड रुपैयाँमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ । नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकिन गर्न नसकिएको उहाँको भनाइ थियो ।

‘यसरी उत्पादन गरिएको बिउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा झन्डै पाँच पटक (पाँच पुस्ता) सम्म रोपेर मात्रै किसानलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ’, अधिकारीले भन्नुभयो । उहाँका अनुसार गएकाे साउनदेखि याे नौलो प्रविधिबाट आलुको बिउ उत्पादन प्रक्रिया थालिएको हो ।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बिउ उत्पादन गर्न थालेका छन् ।

यस उद्योगमा आलुको बिउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि अहिले किसान, कृषि प्राविधिक तथा बिउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगमा सिँचाइका लागि गएकाे आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ लाख ५४ हजार रुपैयाँ विनियोजनसमेत गरिएको थियो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया