निजामती सेवासम्बन्धी विधेयक छिट्टै संसदबाट पारित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

 भदौ २२, २०८० शुक्रबार १२:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने विश्वास व्यक्त  गर्नुभएको छ । 

बीसौँ निजामती सेवा दिवसका अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीवारमात्र मन्त्रिपरिषद्ले विधेयक संसदमा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले याे विधेयक यथाशक्य छिटो पारित गर्ने  बताउनु भयाे । 

उहाँले देशको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाइ निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'देशका ठूला राजनीतिक परिवर्तनमा  निजामती कर्मचारीहरूको पनि महत्त्वपूर्ण भूमिका रहिआएको छ, देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्त्वपूर्ण छ, त्यसका निम्ति तपाईँहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ ।'

उहाँले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिका एजेन्डामा लैजाने सरकारको अहिलेको मुख्य कार्यभार रहेको बताउँदै राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका नागरिकलाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको बताउनुभयो ।

राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रुपान्तरण गर्न विसं २०१३ भदौ २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसात् गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।

'त्यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्ध, राजनीतिकरूपमा तटस्थ, पेसागतरूपमा दक्ष र उच्च मनोबलयुक्त सेवामूलक उत्तरीदायी व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यावहारिक प्रबन्ध गर्नु पर्दछ', उहाँले भन्नुभयो । 

भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोसरूपमा अगाडि बढाइ राष्ट्र र नागरिकको हित र सेवामा समर्पित भइ कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ट कर्मचारीलाई थप उत्प्रेरित गरिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया