मुस्ताङमा असोज नलागेसम्म स्याउ टिप्न नपाइने

 भदौ २२, २०८० शुक्रबार १६:२:३० | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । 

चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ ।

त्यही निर्णयलाई कार्यान्वयन गर्न हिजाे बिहीवार घरपझोङ गाउँपालिकाले बजारमा बिक्रीका लागि राखिएको २५ किलो स्याउ जफत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले बजार अनुगमन गर्दा जोमसोममा रहेकाे कोसेली हाउसमा बिक्रीका लागि राखेको त्याे स्याउ जफत गरेको अधिकृत आचार्यले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले जोमसोम क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा दुई किलोको तौलमा प्लास्टिकमा प्याक गरिएका १० प्याकेट र एक किलोका पाँच प्याकेट स्याउ नियन्त्रणमा लिइएको हो । स्याउको गुणस्तरलाई कायम राख्दै आफ्नो गुणस्तरीय पहिचान यथावत् राख्ने उद्देश्यले असोज १ गतेपछि मात्र स्याउ टिप्न मुस्ताङका पाँच वटै पालिकाका अध्यक्षहरूले प्रतिबद्धता जनाएका उहाँले बताउनुभयो ।

स्याउको राजधानीका रूपमा परिचित मुस्ताङमा पछिल्ला दिनमा स्याउ खेती फस्टाउँदै गएको र यहाँ इटालियन उच्च घनत्वको स्याउ खेती विस्तार हुँदै आइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जानकारी दिएको छ ।

कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा रेडडेलिसियस, रोलय डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस जातका स्याउको खेती हुँदै आएको छ । त्यस्तै नयाँ जातका अर्थात् उच्च घनत्वको स्याउ खेतीतर्फ गाला, फुजी, गोल्डेन डेलिसियस, किङरोट, रेड डेलिसियस र जोनाप्रिन्सका बिरुवा लगाइएको छ । मुस्ताङमा उच्च घनत्वका स्याउका एक लाख ६७ हजार बिरुवा लगाइएको जनाइएको छ ।

मुस्ताङको एक हजार दुई सय बढी हेक्टर जमिनमा स्याउ खेती गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पद्यमनाथ आत्रेयले जानकारी दिनुभयो । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गका हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छ ।

विसं २०२३ मा म्याग्दीमा जन्मेर मुस्ताङमा हुर्केका बुद्धिरत्न शेरचनले मुस्ताङमा स्याउ पुर्‍याएको इतिहास छ । मुस्ताङबाट शुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ । मुस्ताङको मार्फा गाउँ स्याउ खेतीका लागि प्रसिद्ध गाउँ हो ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया