नेपाली राजनीतिमा प्रदीप गिरिको अभाव खड्किरहेको छ : प्रधानमन्त्री प्रचण्ड

 भदौ २२, २०८० शुक्रबार १९:२५:८ | रासस
unn.prixa.net

सिरहा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको बताउनुभएको छ । 

आज शुक्रवरा सिरहाको लहान नगरपालिका–१४ मा रहेको  ‘गिरि आश्रम’ मा नेता गिरिको प्रथम वार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्व. नेता गिरिको विचार र चिन्तनको मौलिकता तथा सबैसँग सरल र सहज सहकार्य गर्नसक्ने विलक्षण क्षमता भएकाले उहाँबाट सिक्न धेरै कुरा बाँकी रहेको महसुस गरेको बताउनुभयो । 

‘प्रदीप गिरि मौलिक र विलक्षण चिन्तनको धनी हुनुहुन्थ्यो । उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र तिनलाई हेर्ने उहाँको आफ्नै मौलिक दृष्टिकोण थियो । जसको कारणले नेपाली समाजको सबै वर्ग, तह र तप्काले उहाँलाई उत्तिकै सम्मान र भरोसा गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘प्रदीप गिरिको तुलना अरू कोहीसँग गर्न कठिन छ । उहाँको उच्च विचार र राजनीतिक संस्कारबाट हामीले ऊर्जा लिनुपर्छ ।’ 

त्यसैगरी नेता गिरिको निधनले आउने पुस्ताका लागि विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वास रहेको उहाँले व्यक्त गर्नुभयो । 

प्रदिप गिरि मेमोरियल ट्रस्टले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेता गिरिको पूर्णकदको शालिक अनावरण गर्नुभयो । समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सिरहाको भौतिक पूर्वाधारको विकास र लहानमा प्रदीप गिरिको नाममा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

‘विसं २०७० को चुनावमा सिरहाले मलाई जिताएर नै म दोस्रो पटक प्रधानमन्त्री बनेको थिएँ । तपाईँहरूले लगाएको गुन मैले पूरै तिर्न पाएको छैन, यो पटक कुनै न कुनै रूपमा तिर्नु छ’, उहाँले भन्नुभयो । 

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, पूर्वमन्त्रीहरू मात्रिकाप्रसाद यादव, पद्मनारायण चौधरी, अजय शङ्कर नायके, सीतादेवी यादवलगायतले मन्तव्य राख्नुभएको थियो ।  

लहान–१४ को खुट्टी खोलाको छेउमा गिरि विसं २०४६ पछि बस्दै आउनुभएको ठाउँलाई प्रदीप गिरिको आश्रम भनेर चिनिने गरिन्छ । स्व. गिरिलाई बीपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा हेर्ने गरिन्छ । नेता गिरिको ललितपुरको नक्खुमा रहेको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गएको वर्ष भदौ ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया