अब सरकारको नेतृत्व देउवाले गर्नुपर्छ : शेखर कोइराला

 भदौ २४, २०८० आइतबार १८:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने बताउनुभएकाे छ ।

११० औँ बीपी जयन्तीको अवसरमा आज आइतवार हेटौँडा–११ काे नवलपुरमा बीपीको शालिक अनावरण गर्न हेटौँडा आएका कोइरालाले वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताउनुभएकाे हाे ।

काेइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको उहाँकाे टिप्पणी छ । उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौँ भनेर भन्नुभयो । सुर्खेतमा गएर एक/दुई महिनाभित्र डेढ/दुई लाख जना मानिस सडकमा उतार्छाैँ भन्नुभयाे ।’

नेता कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छाैँ र जातीय राज्य बनाउँछौँ भन्दै हिँड्दा धरानमा घटना घटन पुगेकाे दाेहाेर्‍याउनुभयाे । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो’, उहाँले भन्नुभयाे ।

कांग्रेस सबैभन्दा ठूलो दल भएकाले स्वभाविकरूपमा सरकारको नेतृत्व गर्न पाउनुपर्ने उहाँको भनाइ थियो । काेइरालाले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया