सुवासचन्द्र नेम्वाङ - शालीन नेताको अकल्पनीय निधन

 भदौ २६, २०८० मंगलबार ६:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवि बनाएका संविधानसभाका अध्यक्ष, सांसद एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

गएराति १ बजे हृदयघात भएपछि उहाँलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । संविधान दिवस आउन एक हप्ता बाँकी रहँदा त्यही संविधान जारी गर्ने नेतृत्वकर्ता नेम्वाङको दुःखद निधन भएको छ । 

नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष हुनुभयो । उहाँ सभामुख पनि बनिसक्नुभएको छ । विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । कानुनमा स्नातक गरेका नेम्वाङले केही समय कानुन व्यवसायमा समेत समय बिताउनुभयो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुकातर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति हुनुभयो । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा सङ्गठित हुनुभएको थियो ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित हुनुभयो ।

एमालेको सातौँ महाधिवेशनमा उहाँ केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य र  २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बन्नुभयो । 

विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहनुभयो । २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री हुनुभयो । २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री हुनुभयो । २०५७ सालमा उहाँ संसद्को सार्वजनिक लेखा समितिको सभापति हुनुभयो ।

२०६३ सालको अन्तरिम संसदमा उहाँ सभामुख चयन हुनुभयो । २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुभयो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उहाँ अध्यक्ष बन्नुभयो । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।

सरल र भद्र स्वभाव अनि तौलिएर बोल्ने नेम्वाङ जीवनको अन्तिम क्षणमा कसैसँग बोल्नै नपाइ सधैँका लागि अस्ताउनुभयो । देशको राजनीतिक परिवर्तन र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया