प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

 भदौ २६, २०८० मंगलबार १४:४६:५९ | रासस
unn.prixa.net

ललितपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । प्रधानमन्त्री प्रचण्ड ललितपुरको च्यासलमा रहेकाे एमालेको केन्द्रीय कार्यालयमा पुगी त्यहाँ राखिएको नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हाे ।

यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि च्यासलमा रहेकाे एमाले केन्द्रीय कार्यालय पुगी पूर्वसभामुख नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ ।

यसैगरी नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपसभामुख इन्दिरा राना मगर, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत च्यासल पुग्नुभयो ।

यस्तै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरूले पूर्वसभामुख नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको ठूलो उपस्थिति छ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण निधन भएको थियो । उहाँको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालय च्यासलमा राख्ने एमालेले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया