‘आरन चलाएर दुई छोरा र एक छोरीकाे पढाइ उतारेँ’

 भदौ २७, २०८० बुधबार २०:३२:१ | रासस
unn.prixa.net

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका मिठु विश्वकर्माले आरन पेसा शुरु गर्नुभएको ३५ वर्षभन्दा बढी भइसक्यो । घरसँगै जोडिएको जस्ताको छाना भएको साँघुरो कोठामा आरन व्यवसाय सञ्चालन गर्नुभएका विश्वकर्माको समय दैनिक १२ घण्टा त्यहीँ आरनमा बित्छ ।

हरेक बिहान ग्राहकको मागअनुसारका कृषि सामग्री निर्माण गर्नु उहाँको दिनचर्या बनेको छ । कुटो, कोदालो, हँसिया, खुर्पा मात्र नभएर ग्रामीण क्षेत्रमा आवश्यक पर्ने धेरैजसो फलामका सामानहरू विश्वकर्मा आफैँले तयार पार्नुहुन्छ । फलाम तथा तामाका भाँडाकुँडा बनाउन परे वरपरका छरछिमेक तथा स्थानीयवासी उहाँको आरनमा पुग्छन् ।

‘आरन चलाएर दुई छोरा र एक छोरीकाे पढाइ उतारेँ’, विश्वकर्माले भन्नुभयो, ‘यही पेसाबाट जीविकोपार्जन भइरहेको छ, पेसाबाट सन्तुष्ट नै छु ।’ श्रीमती र छोराछोरीसहित परिवारका पाँचै सदस्यको पालनपोषण र शिक्षादीक्षा आरन व्यवसायले नै धानेको उहाँले बताउनुभयो । ‘मासिक कति आम्दानी हुन्छ भन्ने यकिन हुँदैन तर यही पेसाबाट घरगृहस्थी चलेको छ’, उहाँले भन्नुभयो ।

पछिल्लो समय प्रविधि भित्रिँदै गएकाले आरन व्यवसाय गर्न पनि सजिलो भएको विश्वकर्माले बताउनुभयो । ‘आरनमा आगो फुक्नका लागि वडा कार्यालयले अनुदानमा उपकरण दिएकाले पहिलेभन्दा हिजोआज काम गर्न धेरै सजिलो भएको छ’, उहाँले भन्नुभयो, ‘आरनमा आगो फुक्न बाख्राको छाला काढेर खलात बनाएर आगो फुक्ने गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ ।’

विश्वकर्माका अनुसार पुरानो आरनलाई सुधारिएको आरनका रूपमा विकसित गरेर लैजानका लागि पालिकाले पुराना आरन व्यवसायीलाई अनुदान सहयोग गर्दै आएको छ । गाउँपालिकामार्फत वडा कार्यालयले आरनका लागि आगो पुक्ने मेशिन, वेल्डिङ मेशिन लगायतका उपकरण अनुदानमा उपलब्ध गराएपछि सजिलो भएको उहाँको भनाइ थियो । ‘वडा कार्यालयले नयाँ प्रविधि तथा उपकरण सहयोग नगर्दासम्म दर्शन ढुङ्गा ल्याएर रसायन लगाउनु पर्दथ्यो’, विश्वकर्माले भन्नुभयो, ‘वडाले सहयोग गरेपछि आरन सञ्चालनमा धेरै सुविधा पुगेको छ ।’ 

गाउँपालिकाले पालिकाभित्र रहेका आरनलाई आधुनिकीकरण गर्दै लैजाने योजनाअनुरूप आर्थिक सहयोग प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । ‘स्थानीयस्तरमा आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई पालिकाले आवश्यक सहयोग गर्दै आएको छ’, उहाँले भन्नुभयो, ‘यस व्यवसायलाई घरेलु उद्योगसँगै आर्थिक आयआर्जन गर्ने माध्यमका रूपमा विकास गर्दै जाने गाउँपालिकाको योजना छ ।’

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया