‘युवालाई नेपालमा अवसर नै छैन भन्ने सत्य हाेइन, 'प्लस २' पनि नगरि विदेश जाँदैमा भविष्य उज्जवल हुन्छ र ?’

 भदौ २७, २०८० बुधबार १९:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्ने बताउनुभएकाे छ ।

आज बुधवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियामा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । ‘पेनफुल छ, स्लो छ, तर पोजेटिभ डिरेक्सनमा छ’, उहाँले भन्नुभयाे, ‘कार्यान्वयनमा केही तगारो पनि छन्, त्यस कारण अपेक्षाअनुसार नतिजा देखिन समय लाग्छ ।’ आफूले इमानदारीका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको भन्दै उहाँले सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी पूरा गर्दा विद्यमान समस्याबाट माथि उठ्न समय नलाग्ने बताउनुभयाे ।

अहिले रेमिट्यान्स बढेको भए पनि पुँजी बजार तथा घरजग्गामा समेत लगानी आउन नसक्नुको कारण लगानीकर्तामा रहेको हिचकिचाहट रहेको अर्थमन्त्री महतले उल्लेख गर्नुभयाे । ‘बाहिर जसरी प्रचार भइरहेको छ, त्यसले लगानीकर्तामा हिचकिचाहट देखिन्छ, द्विविधा देखिन्छ, यसबाट लगानी आउन सकेन ।’ विगतमा लिएका लचिला नीतिहरूका कारण अधिक र अनुत्पादक क्षेत्रमा प्रवाह भएको कर्जा अहिले समस्यामा परेको भन्दै उहाँले यो अवस्था आउनुमा लिने मात्र दोषी नभएर दिने समेत हुने बताउनुभयाे ।

हिजो 'इजी मनी' हुँदा जति पनि लगानी गरिए पनि त्यसको प्रतिफल नआउँदा लगानीकर्ताले नयाँ लगानी गर्न नसकेको भन्दै अर्थमन्त्री महतले जति माग्यो, त्यति पैसा दिँदै गर्दा त्यसको सही उपयोग भयो वा भएन भनेर विगतमा हेर्न नसक्नु नै कमजोर भएको बताउनुभयाे । राजस्वमा देखिएका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारी रहेको जानकारी दिँदै उहाँले बजेट व्यवस्थापनका लागि समेत कार्यविधिहरू बनिरहेको उल्लेख गर्नुभयाे ।

आत्मविश्वास बढाउनु जरुरी

अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन आत्मविश्वास बढाउन जरुरी रहेको समेत बताउनुभयाे । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै उहाँले यसमा राष्ट्र बैंकले लिने नीतिहरूको ठूलो भूमिका रहने बताउनुभयाे । ‘राष्ट्र बैंकले धेरै नै माइक्रो लेभलमा कस्न खोज्दा पनि लगानीकर्ता हच्किएको अवस्था हो’, उहाँले भन्नुभयाे, ‘अर्कोतर्फ बढी नेगेटिभ प्रचारले समेत आत्मविश्वास बढाउन नसकेको हो ।’ निजी क्षेत्रको छलफलमा आफूले जहाँ समस्या छ, त्यसको सम्बोधनमा ध्यान दिउँ तर नकारात्मक प्रचार नगरौँ भनेर आग्रह गरेको समेत उहाँले उल्लेख गर्नुभयाे ।

युवालाई नेपालमा अवसर नै छैन भन्ने भाष्य बनाइयो, यो पूरै सत्य होइन

अर्थमन्त्री महतले नेपालबाट 'प्लस २' पास गरेर ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिनु सुखद 'ट्रेन्ड' नभएको बताउनुभयाे । नेपालमा अवसर नै छैन भन्ने भाष्य बनाएर यसरी युवा विदेशिने गरेको प्रवृत्तितर्फ इङ्गित गर्दै उहाँले नेपालमा कहाँ अवसर जुटाउन सकिन्छ भनेर अनुसन्धान नै नगर्ने परिपाटी गलत भएको बताउनुभयाे । ‘जुन देशमा गर्न धेरै बाँकी छ, अवसर त्यही देशमा हुन्छ’, उहाँले भन्नुभयाे, ‘प्लस २ पनि नगरि विदेश जाँदैमा भविष्य उज्जवल हुन्छ भन्ने ग्यारेन्टी के छ र ?’ कलिलो उमेरमै विदेश जाँदा धेरै कठिनाइ भोग्नुपरेको भन्दै उहाँले रोजगारीको खोजीमा जाने युवाका कारण भने नेपाललाई ठूलो सहयोग भइरहेको बताउनुभयाे ।

निजी क्षेत्रले भन्नासाथ सबै ठिक हुन्छ भन्ने पनि होइन

अर्थमन्त्री डा. महतले निजी क्षेत्रले भन्ने सबै विषय सही नै हुन्छन् भन्ने भाष्यसमेत सही नभएको बताउनुभयाे । निर्माण व्यवसायीले प्रचार गर्दा सरकारले भुक्तानी नदिएको भन्दै प्रचार गरेको र आन्दोलनमा आए पनि सारमा उनीहरूको माग ठेक्काको समय थपमा रहेको उहाँले खुलाउनुभयाे । ‘हाम्रो पनि कमजोरी हुन सक्छन्’, उहाँले भन्नुभयाे, ‘तर निजी क्षेत्रले भन्नासाथ त्यो सबै ठिक हो भन्ने पनि होइन ।’

'रिर्फम' निर्दयी हुन्छ, अड्चन आउँछन्

सुधारको सन्दर्भमा घोषणाभन्दा धेरै कार्यान्वयनमा समस्या रहेको अर्थमन्त्रीले बताउनुभयाे । त्यसले अड्चन सिर्जना गर्ने र राजनीतिक क्षेत्रबाट समेत दबाब आउने उहाँको अनुभव छ । आवश्यकता नदेखेका संरचना खारेज गर्ने सवालमा आफूले यस्तै दबाब झेल्नुपरेको उहाँको भनाइ छ । ‘खाइपाइ आएकाहरू बीचमा म सबैभन्दा अलोकप्रिय हुने रहेछु’, उहाँले भन्नुभयाे ।

छलफलमा सेजनका अध्यक्ष सुजन ओलीले अर्थतन्त्रको संरचनात्मक सुधारमा अर्थमन्त्रीले चालेको कदमको स्वागत गर्दै यो चुनौती पार गर्न सेजनको साथ रहने जानकारी गराउनुभयाे ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया