बाजुरामा खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

 भदौ २८, २०८० बिहीबार १२:५४:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाजुरा - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिनुभयो । नागरिकका लागि राखिएको चामल सकिएको उहाँले बताउनुभयो । विपद् र कारागारका लागि मात्र चामल राखिएको र नागरिकलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । 

मार्तडीमा रहेकाे डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताउनुभयो । 

पूर्वी उत्तरी भेगको कोल्टीमा रहेकाे डिपोमा भने दुई सय क्विन्टल चामल मौज्दात छ । कोल्टी डिपोमा रहेको चामल एक हप्ताका लागि मात्र पुग्ने भएकाले एक हप्तापछि ताला लगाएर बिक्री बन्द गरिने सार्वजनिक सूचना टाँस गर्नुपर्ने अवस्था आएको प्रमुख ओझाको भनाइ छ । 

'ठेक्काका लागि बोलपत्र आह्वान गरेका छौँ । त्यसपछिको प्रक्रिया चलिरहेको छ । यस्तै ढिलासुस्ती भए दशैँसम्म पनि चामल नआउन सक्छ', ओझाले भन्नुभयो ।

बाजुराकाे हिमाली गाउँपालिकामा खाद्यान्न सङ्कट भएको पाँच महिनाभन्दा बढी भएको छ । गाउँपालिकाको कवाडीमा रहेकाे अस्थायी डिपोमा गएकाे आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिनादेखि खाद्यान्न सङ्कट भएको स्थानीय धनलाल रोकायाले बताउनुभएको छ । 

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगीनमा खाद्यान्न सङ्कट भएको हो ।

यस्तै, हुम्लाको ताजाकोट गाउँपालिकामा पनि खाद्यान्न सङ्कट भएको छ । हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किनुभएको छ । 

आव २०७९/८० मा कवाडी डिपोमा तीन हजार पाँच सय क्विन्टल चामल थियो । कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल मौज्दात नरहेको शाखाले जनाएको छ । आव २०८०/८१ मा कवाडी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामलको कोटा रहेको छ । चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ रुपैयाँमा बिक्री हुने गरेको थियो । डिपोमा चामल अभाव भएपछि नागरिकले बजारमा प्रतिकिलो ८० रुपैयाँ हालेर चामल किन्ने गरेका छन् । 

साविकको बिच्छ्याँ गाविसमा मात्र चार हजार जनसङ्ख्या रहेको छ । डिपोमा चामल सकिएपछि बिच्छ्याँका घरघरमा खाद्य सङ्कट भएको छ ।  स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ ।  हिमाली गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट गाउँपालिका हो । गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक हप्ता लाग्ने गरेको छ ।

त्यस्तै, स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री  केन्द्रमा पनि चामल सकिएको चार महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभएको छ । गएकाे आवको पाँच सय क्विन्टल चामल जेठ अन्तिम हप्तामा सकिएको हो । यो आवको चामल पाँच सय क्विन्टल रहेको भए पनि ढुवानी ठेक्का प्रक्रियामा रहेको छ ।

जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख ओझाले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया