सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

 भदौ २९, २०८० शुक्रबार १४:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

आज शुक्रवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्रीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभयो । उहाँले आक्रमणकारीलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढेको समेत जानकारी गराउनुभयो । उहाँले यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भई काठमाण्डाैकाे बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराउनुभयो । उहाँले घटनाको छानबिन सम्बन्धमा बनेको तीन सदस्यीय समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता प्रदर्शन हुन नसकेको देखाएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया