राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल पनि अस्ट्रेलिया प्रस्थान
असोज १२, २०८० शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभाको औपचारिक भ्रमणबारे आज शुक्रवार प्रतिनिधिसभालाई जानकारी गराउँदै याे कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्ड आउँदाे असोज ५ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय भएकाे छ ।
प्रधानमन्त्रीले छोटो समय रहेका कारण संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभाको कार्यक्रम सकेर त्यतैबाट चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले आफ्नो चीन भ्रमणमा दुई देशबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपालीको हित एवम् दुई देशबीचको सम्बन्धलाई बलियाे तुल्याउन प्रयास हुने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
चीन भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले असोज ४ गते संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभालाई न्युयोर्कमा सम्बोधन गर्नुहुनेछ । प्रचण्डले संयुक्त राष्ट्र सङ्घको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरू अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित देशबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले अल्प विकसित देशहरूको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्नुपरेका विशिष्ट चुनौतीबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने योजना रहेको पनि सुनाउनुभयाे ।
उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी भई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्र सङ्घको महासचिवबाट निमन्त्रणा भएको छ । यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र समुन्नत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरूलाई विश्व समुदायसमक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको छु । यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदाै ३० गते संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्युयोर्कतर्फ जाने मेरो तयारी रहेको छ । संयुक्त राष्ट्र सङ्घको महासभाको उच्चस्तरीय सत्रपछि असोज ५ गते छिमेकी देश गणवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङजाओ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्र सङ्घमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जानुपर्ने स्थिति बन्न गएको हो ।’
प्रधानमन्त्रीकाे रूपमा प्रचण्डकाे याे तेस्राे चीन भ्रमण हाे । भ्रमण दल छोटो र छरितो रहेको पनि उहाँले दाबी गर्नुभयो ।