विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

 असोज १, २०८० सोमबार ११:४०:१ | रासस
unn.prixa.net

काठमाण्डौ – परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले  त्यसै अनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्युयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले आयोजना गरेका स्वागत तथा सम्मान कार्यक्रममा उहाँले नेपालले हासिल गरेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याएको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताउनुभयो ।

जनसम्पर्क समिति अमेरिकाको आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले विदेशमा भएका नेपालीलाई स्वदेशमा फर्किने वातावरण बनाउनका लागि वर्तमान सरकारले काम गरिरहेको बताउनुभएको थियो । मन्त्री साउदले भन्नुभयो, ‘केवल तपाईंहरूको ज्ञान, सीप र पुँजीमात्र नभइ देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।’

गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र बलियो संस्थाले मात्र विदेशमा बसेका नेपालीहरूको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गर्नुभयो ।

उहाँले विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृह मन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गर्नुभयो । मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको पासपोर्ट, भिसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको सङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको जानकारी दिनुभयो ।

उहाँले अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा बसेर यहाँ हासिल भएको प्रजातान्त्रिक संस्कृति, संस्कार र व्यवहारलाई नेपालमा लैजान अनुरोध गर्दै भन्नुभयो, ‘तपाईंहरू विकसित र प्रजातान्त्रिक देशमा बसेर यहाँ जुन प्रक्रिया र प्रणाली अङ्गिकार गर्नुभएको छ त्यसको अभ्यासमा नेपाललाई लैजान म अनुरोध गर्दछु ।

उहाँले एक प्रसङ्गमा नेपालको परराष्ट्र नीति हिजोका दिनमा विचार या सिद्धान्तका आधारमा कहिले दायाँ त कहिले बायाँ ढल्किएको अनुभव गरिएको भएता पनि अहिले प्राकृतिक सिद्धान्तअनुसार स्वभाविक आधारमा ल्याउन प्रयास गरिएको बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री जीतेन्द्र देव, जनसम्पर्क समितिका सभापति आनन्द विष्टलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया