म्याग्दीकाे बेनीमा देखाइयाे दुई सय वर्ष पुरानो बर्खेनाच

 असोज २, २०८० मंगलबार ८:३५:० | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी - म्याग्दीकाे बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । 

दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमवार बेलुका बर्खेनाचको समापन गरिएको हो ।

बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

'लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भिड लागेको थियो', उहाँले भन्नुभयो, 'यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।'

बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसलाई मारेपछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा  नागनागिनी नाच देखाइएको थियो । 

मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो ।  परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो । 

मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।  

बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ । गएकाे भदौ १८ गतेदेखि शुरु भएको तालिम सोमवार हिजाे सम्पन्न भएको हो ।  बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया