संयुक्त राष्ट्र संघको महासभामा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भावुक सम्बोधन

 असोज ३, २०८० बुधबार ९:३०:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुभएको छ । भावुक सम्बोधनका क्रममा उहाँले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गर्नुभएको छ ।

जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभयो । उहाँले रूसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप समेत लगाउनुभयो । जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले बेवास्ता गरेको भन्दै उहाँले रुसलाई आणविक हतियार राख्ने अधिकारसमेत नभएको दाबी गर्नुभयो ।

रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि विश्व समुदायलाई उहाँले आग्रह गरेको बीबीसीले जनाएको छ । आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनुभएको हो ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गर्नुभएको छ । बाइडेनले रूसको आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन सदस्य राष्ट्रलाई आग्रह गर्दा जेलेन्स्कीले त्यसतर्फ निकै चासो राखेको देखिन्थ्यो ।

बाइडेनले युक्रेन युद्ध र यसले निम्त्याउन सक्ने विश्व सुरक्षाबारे जोड दिएर कसैले पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रको मूल सिद्धान्त त्याग्न नहुने बताउनुभयो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गर्नुभएको छ । युक्रेनमाथि रूसको आक्रमणलाई लिएर रूसतर्फ नरम भएको आरोप खेपिरहेका लुलाले वार्ता नै विकल्प रहेकोमा जोड दिनुभयो ।

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया