विशिष्ट व्यक्तिहरूलाई मापदण्ड विपरीत दिएकाे सुविधा १५ दिनभित्र फिर्ता गर्न निर्देशन

 असोज ४, २०८० बिहिबार १६:२०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय समितिले अति विशिष्ट (भीभीआईपी) र भीआईपी (विशिष्ट) व्यक्तिहरूलाई मापदण्ड विपरीत दिइएको सुविधा १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआईपी र भीआईपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, गाडी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीले नियमअनुसार पाउनेभन्दा बढी गाडी प्रयोग गरेको भए त्याे पनि फिर्ता गर्न निर्देशन दिइएको छ । 

समितिको बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरी खतिवडाले भन्नुभयो, ‘भीभीआईपी र भीआईपीहरूलाई मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, गाडी चालक र भान्सेहरू १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएकाे छ । त्यसबारे समितिलाई जानकारी गराउन पनि अनुरोध गर्दछौँ ।’

त्यसैगरी समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरू सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकोमा कार्यान्वयनमा प्रभावकारिता नभएकाले त्याे निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया