नासाले ७ वर्षअघि अन्तरिक्षमा पठाएको यान आइतवार पृथ्वीमा अवतरण गर्दै

 असोज ५, २०८० शुक्रबार १८:५१:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सन् २०१६ को सेप्टेम्बरमा पठाएको अन्तरिक्ष यान एउटा छुद्रग्रहबाट नमुना लिएर पृथ्वीतर्फ फर्किएको छ । ओसिरिस–रेक्स मिसन नामको अन्तरिक्ष यान पर्सि आइतवार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने नासालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

यान अमेरिकाको उटाह राज्यको पश्चिमी मरुभूमिमा अवतरण हुने छ । आइतवार स्थानीय समयअनुसार ६ बजेर ४२ मिनेटमा अवतरण हुने नासाको अनुमान छ । अवतरण सफल भएमा यो नासाको विशेष सफलता हुने छ । यानको क्याप्सुलमा 'बेन्नु' नामको क्षुद्रग्रहबाट सङ्कलन गरेको धुलोको नमुना छ । झन्डै ५०० मिटर अग्लो पहाड आकारको अन्तरिक्ष चट्टान 'बेन्नु' ले पृथ्वी र जीवनको अस्तित्वबारे थप नयाँ कुरा सतहमा ल्याउने नासाको विश्वास छ ।

सन् २०१६ को सेप्टेम्बर ८ मा प्रक्षेपण भएको ओसिरिस–रेक्स मिसन सन् २०१८ मा 'बेन्नु' को अक्षमा पुगेको थियो । दुई वर्ष 'बेन्नु' को परिक्रमा गरेको यानले सन् २०२० को अक्टोबर २० मा नमुना सङ्कलन गरेको थियो ।

सन् २०२१ को मेमा पृथ्वीतर्फ फिर्ता आउने यात्रा थालेको यान अहिले वायुमण्डलमा फेरि प्रवेश गर्न लागेको हो । झन्डै ७ वर्षमा यानले ६ अर्ब ४० करोड किलोमिटर यात्रा गरेको छ । 'बेन्नु' क्षुद्रग्रह झन्डै साढे ४ अर्ब वर्षअघि सौर्यमण्डलको उत्पत्ति भएका बेला बनेको सबैभन्दा पुरानो क्षुद्रग्रहमध्ये को हो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया