पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बेइजिङ – परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।
बेइजिङमा रहेको नेपाली राजदूतावासमा आज आइतवार आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै मन्त्री साउदले चीनले छोटो समयमा हासिल गरेको चामत्कारिक आर्थिक प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताउनुभयो ।
‘नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यहाँहरूले निरन्तर काम गरिरहनुभएको छ’, नेपाली समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘दुई देशबीचको शताब्दीयौँदेखि घनिष्ट एवम् मित्रवत् सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हितका विषयमा सहकार्य अभिवृद्धि गर्दै जाने दिशामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यो भ्रमणलाई दुवै पक्षले अत्यन्त महत्त्वपूर्ण रूपमा लिएका छौँ ।’
मन्त्री साउदले प्रधानमन्त्री र चीनका राष्ट्रपति सी चिनफिङबीच हिजो शनिवार भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयहरूमा सारगर्भित कुराकानी भएको भएको जानकारी दिनुभयो ।
‘दुई असल एवम् परम्परागत छिमेकीका रूपमा नेपाल र चीनबीच मित्रता र सांस्कृतिक आदानप्रदानको लामो इतिहास छ । हामीले पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित घनिष्ठ सम्बन्ध कायम गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ।
उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिनेमा आफूहरू दृढरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । साथै नेपालको सार्वभौमिकता, अखण्डता तथा राष्ट्रिय स्वतन्त्रताप्रति चीनको निरन्तर समर्थन र दृढ नीतिको सराहनासमेत गर्नुभयो ।
साउदले नेपाल सरकार नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै यसका लागि संस्थागत, नीतिगत, व्यवस्थापकीय, व्यवहार र अन्य पक्षमा सुधार गरेको बताउनुभयो । उहाँले आवश्यकतानुसार थप सुधार गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
‘नेपाली नागरिकको समृद्धिका लागि आर्थिक विकासलाई तीव्रता दिन नेपाल अहिले प्रयासरत छ । सन् २०२६ मा हामी अति कम विकसित देशबाट स्तरोन्नति हुँदैछौँ र यस स्तरोन्नतिलाई सहज र अपरिवर्तनीय बनाउन हामी प्रयासरत छौँ’, उहाँले भन्नुभयो ।
विद्यमान व्यापार घाटा कम गर्न चिनियाँ बजारमा नेपाली उत्पादनको सहज पहुँचका लागि हामीलाई चीनको सद्भाव र सहयोगको आवश्यकता रहेको भन्दै परराष्ट्रमन्त्री साउदले नेपालमा उत्पादकत्व सुधार गर्न र चिनियाँ बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन चीनलाई प्रविधि हस्तान्तरण गर्न अनुरोध गरेको बताउनुभयो ।
‘व्यापार, लगानी, प्रविधि हस्तान्तरण, जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी, गरिबी निवारण, शिक्षा, संस्कृति, कनेक्टिभिटीलगायतका क्षेत्रमा हाम्रो सहयोग र सहकार्य अभिवृद्धि गर्ने प्रशस्त सम्भावना छन्’, उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री साउदले नेपाल–चीन आर्थिक साझेदारी अभिवृद्धि गर्नका लागि सीमापार सम्पर्क सञ्जाल विस्तार अत्यावश्यक रहेको भन्दै नेपाल सरकारले नेपाल–चीनबीचका सबै सीमा नाकालाई नियमित सञ्चालन गर्ने, दुई देशको सीमामा पूर्वाधार निर्माण गर्ने, सीमा नाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने, नेपाल–चीन सीमामा बन्दरगाह सुविधा निर्माणलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।