सरकारले सुन तस्करी प्रकरणकाे छानबिन गर्न चाहेको छैन : ओली

 असोज ८, २०८० सोमबार १६:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणकाे छानबिन गर्न नचाहेको आरोप लगाउनुभएको छ । सुन तस्करी प्रकरणकाे छानबिनका लागि आयोग गठन गर्न सरकारलाई आफ्नो पार्टीले बाध्य पारे पनि त्याे आयोगमार्फत छानबिन गर्न भने नमानेको उहाँकाे जिकिर थियो ।

आज सोमवारदेखि काठमाण्डाैमा शुरु भएकाे पार्टीको बाग्मती प्रदेश अधिवेशनकाे उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । सुन तस्करहरूलाई भगाउनका लागि सरकार एक महिनापछि मात्रै आयाेग बनाउन तयार भएकाे उहाँले दाबी गर्नुभयाे । ओलीले पछिल्लो समय भएका सबै सुन तस्करीको कुनै न कुनै दिन छानबिन गराएरै छाड्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एक महिनासम्म सङ्घर्ष गरेर सुन तस्करीको छानबिन गर्नुपर्छ, व्यापक छानबिन गर्नुपर्छ भन्यौँ । एक महिनापछि सरकार बल्ल आयोग बनाउन मान्यो । तस्करहरूलाई भगाउन नै सरकारलाई एक महिनाकाे समय चाहिएकाे हाे । अहिले सरकार छानबिन गर्नु हुँदैन भनिराखेको छ ।’

ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न पनि सरकारलाई चुनौती दिनुभयो । भ्रष्टाचारका फाइल खोले जेल पर्नेमा सत्तारूढ दलकै नेताहरू हुने उहाँले दाबी गर्नुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिककाे आवाज संसदमा उठ्न नदिनका लागि संसद् लामो समयसम्म स्थगित गर्न ठाडो आदेश दिएको ओलीले बताउनुभयाे । 

अध्यक्ष ओलीले सरकार निकम्मा भएको भन्दै उसलाई सुझाव दिनुको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया