पालिकालाई अधिकार दिन कन्जुस्याइँ गर्नु हुँदैन : राष्ट्रपति पाैडैल

 असोज ८, २०८० सोमबार १८:५६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – राष्ट्रपति रामचन्द्र पौडेलले पालिका अधिकार सम्पन्न हुन नदिइएको गुनासाे गर्नुभएकाे छ ।

आज सोमवार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । पालिकालाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै उहाँले पालिकालाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । सङ्घीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरूसँग आफूले आग्रह गर्ने पनि उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘पालिका र प्रदेश अझै पनि संविधानको मर्म अनुरूप अधिकार सम्पन्न हुन सकेका छैनन् । उनीहरूलाई अझै पनि नियन्त्रित रूपमा, अड्कलेर अधिकार दिइने कन्जुस्याइँ भएको छ । शीर्ष दलका नेताहरू प्रचण्ड, केपी ओली र शेरबहादुर देउवालाई बाेलाएर तपाईँहरू कन्जुस्याइँ नगर्नुस्, तपाईँहरू ३ जनाले चाहने हो भने यो देश सङ्घीयतामा पुग्छ भनेर भन्नेछु ।’

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरेको थियो । उपमहानगरपालिका मेयर मनोज साहले पाैडेललाई नागरिक अभिनन्दनसहित मायाको चिनो दिएर स्वागत गर्नुभएको थियो ।

यसअघि राष्ट्रपति पौडेलले आज बिहान जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज २१, २०८०

तपाईको प्रतिक्रिया