देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

 असोज १३, २०८० शनिबार १९:१७:२८ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि शुरु भएको छ । देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ गणित शिक्षकलाई प्रशिक्षण दिन शुरु गरिएको हो ।

आजदेखि असोज २३ गतेसम्म अनलाइनबाट र २६ देखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिन लागिएको सहजकर्ता सुस्मिता पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण कसरी बनाउने भन्ने विषयमा प्रशिक्षण दिइनेछ ।

सहभागीलाई छ अलगअलग समूहमा विभाजन गरी शैक्षिकशैली सिकाइनेछ भने उहाँहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृङ्खला समावेश गराइने तालिमका संयोजक डा जीवन काफ्लेले बताउनुभयो । यसबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिइएको उहाँको भनाइ थियो ।

निक सिमोन्स फाउन्डेसनको सहयोगमा गएको केही वर्षदेखि समाजले गणितको अध्ययन अध्यापन तथा अनुसन्धानसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ ।

हाल गणितको अध्ययन अध्यापनमा देखिएका समस्या, विद्यार्थीको विषयप्रतिको घट्दो रुची तथा पढ्दै गरेकाहरूले पनि त्यस तह पूरा नगर्ने, बीचैमा विषय बदल्ने गरेको वर्तमान अवस्थालाई मध्यनजर गरेर तालिम दिन लागिएको संयोजक काफ्लेले बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका सभापति कमला तुलाधरले तालिमबाट प्राप्त ज्ञान कक्षा कोठासम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमलाई पालिकास्तरसम्म पुर्‍याएर प्रभावकारी शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजले गत वर्ष पनि यस्तै प्रकृतिको पहिलो चरणको शैक्षिक कार्यशाला गरेको थियो । यस पटक त्रिभुवन विश्वविद्यालय, काठमाण्डाै विश्वविद्यालय तथा एसओएसलगायत विद्यालयका करिब ३२ जना विज्ञहरूले कार्यशालाको सहजीकरण गर्नुहुनेछ ।

देशभरका विभिन्न विद्यालयका गणित शिक्षकले आवश्यकता र औचित्यका आधारमा निर्देश गरेको अवधारणाअनुसार विज्ञद्वारा फरकफरक चरणमा कार्यशाला गोष्ठी तथा परिचर्चा गरिने बताइएको छ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया