भ्रष्टाचारका जुनसुकै फाइल खाेल्न सरकारलाई ओलीकाे चुनाैती

 असोज १६, २०८० मंगलबार १७:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको छ ।

आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिनुभएको हो । उहाँले ललिता निवास जग्गा प्रकरणको फाइल खोले पनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताउनुभयो । सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरूलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको उहाँले टिप्पणी गर्नुभयाे । यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको 'ब्ल्याकमेलिङ' बाट आफूहरू नतर्सिने ओलीकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले याे फाइल खाेल्छु, त्यो फाइल खोल्छु भनेर तर्साइरहेकाे छ । खोल्नुस् फाइल । कुन कुन फाइल हो खोल्नुस् । खुलेका फाइलका हालत याे छ । सरकारले निकै चर्कोसँग बालुवाटारको ललिता निवासको फाइल खोलिन्छ भन्याे, त्यो फाइल बन्द गर्न क्या गाह्रो पर्‍याे हगि ? फाइल त खोल्नुभयो तर बन्द गर्न कस्तो गाह्रो पर्‍याे । सत्ता गठबन्धनका मान्छे परेपछि त त्यसलाई कसरी जोगाउने ? आहा पसिना आएको त्यति बेला । रुमालले पुगेन । गम्छा लिएर पुछ्नु परेको थियो । यही सुन काण्डले तपाईँहरूलाई कति हैरान पारेको छ ? तीन जनाको आयोग बनाउने भन्ने थियो । नराखी नहुने आफ्ना खालका मान्छेहरू परे होलान् । चार जना राख्नु परेछ फेरि । यो सबै ब्ल्याकमेलिङ त हो नि । तर्साएको त हो नि । प्रतिपक्षलाई तर्साएको ।’

अध्यक्ष ओलीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा सबै राजनीतिक दलहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । उहाँले राष्ट्र हित, विकासका प्रयास,  सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताका विषयहरूमा एकजुट हुनुपर्ने बताउनुभयो । त्यस्तै राजनीतिक उपलब्धि र संविधानको रक्षा गर्न पनि सबै एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया