चाडपर्वमा कृत्रिम अभाव र कालाेबजारी गर्नेलाई कडा कारबाही गर्ने सरकारकाे चेतावनी

 असोज १६, २०८० मंगलबार १९:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले चाडपर्वको समयमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुकाे कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै बिक्री नगर्न उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराएको छ ।

आज मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र कालाेबजारी नगर्न उद्याेगी व्यवसायीहरूलाई आग्रह गरेकाे हाे । सरकारले कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी पनि दिएकाे छ । सरकारले हेलो सरकार, वाणिज्य विभागको पोर्टल वा टोल फ्री नम्बर ११३७ मा कृत्रिम अभाव र कालाेबजारीकाे सूचना दिन पनि आग्रह गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तुकाे कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि तथा कालोबजारी गरी बिक्री गर्ने काम नगर्न/नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई नेपाल सरकारले ध्यानाकर्षण गराउँछ । अस्वाभाविक मूलयवृद्धि र कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक नाफाखोरी गर्ने र अस्वाभाविक मूल्यवृद्धि गर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने र त्यसकाे प्रतिवेदन सर्वसाधारण सबैको जानकारीका लागि सम्बन्धित निकायबाट दैनिक रूपमा सम्प्रेषित गर्न नेपाल सरकार निर्देशन गर्दछ ।’

बैठकले उपभोग्य वस्तुको बिक्रीसँगै सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयाे ।

बैठकले विशेष अदालतसम्बन्धी नियमावली २०८० स्वीकृत गर्ने, व्यवस्थापन तथा नियमन विधेयक २०८० सङ्घीय सरकारमा पेस गर्न स्वीकृति दिने, शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पनि सङ्घीय सरकारमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेकाे छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया