गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

 असोज २१, २०८० आइतबार १०:०:३१ | रासस
unn.prixa.net

कैलाली – कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन शुरुवात गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको  हो ।

टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ । तालिमपछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । ‘गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ‘यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।’

गौशालाले शुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री शुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ । गौशालाले यससँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवान्का मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताउनुभयो  । ‘गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिनेरहेछ,’ उहाँले भन्नुभयो, ‘यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ । उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ ।’

गौशालाले श्रीमद्भागवत् महायज्ञ गर्ने, कथावाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उहाँको भनाइ छ ।

सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिनादेखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफैँले खर्च व्यर्होने गरेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया