अवाञ्छित गतिविधि रोक्न एक सय बाइस ठाउँमा प्रहरी कक्ष

 असोज २३, २०८० मंगलबार १८:५३:३२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ।

भारततर्फको सीमावर्ती इलाकामा एक सय २० स्थानमा र चीनतर्फ दुई स्थानमा सहायता कक्ष स्थापना गरिएको छ भने भारततर्फ ३० स्थानमा स्वास्थ्य कक्ष र चीनतर्फ ३ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो।

प्रवक्ता खड्काका अनुसार दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवम् सहज आवगमनको व्यवस्था मिलाउन तथा आपत्मा परेका नागरिकको उद्धारमा सहयोग पुर्‍याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्व लक्षित सहायता कक्ष सुनसरीको पकलीस्थित बराह बाहिनी मुख्यालयअन्तर्गत २५, सप्तरीको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी ५३, गढीमाई बाहिनी मुख्यालय मकवानपुरअन्तर्गत दुई, मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत दुई, विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीअन्तर्गत १९, महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत एउटा र  वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।

महोत्तरी, रुपन्देही, सुनसरी, सप्तरी, कैलालीलगायत भारतसँगको सीमानाकामा स्वास्थ्य सहायता कक्ष पनि स्थापना भएका छन् । सहायता कक्ष र स्वास्थ्य सेवा कक्ष अन्य स्थानमा पनि स्थापना गर्न आवश्यक देखिए तदनुरुप हुने प्रवक्ता खड्काले बताउनुभयो ।

चाडपर्वको बेला सीमानाकाबाट आवतजावत गर्ने नागरिकको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाटजस्ता घटना हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न सहायता कक्ष स्थापना गरिएका हुन् ।

सीमानाकाबाट आवतजावत गर्ने क्रममा कुनै पनि नागरिकमा स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया