किसानको उत्पादन बिक्री नभए सहकारीले किनिदिने

 असोज ३०, २०८० मंगलबार १६:९:५६ | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यावसायिक तरकारी खेती गर्दै आएको वर्षाैँ भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । अब आशाजस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलले मूल्य पाउने भएको छ ।

नगरपालिका र गौमुखी कृषि विकास सहकारीको सहकार्यमा हटिया बजारमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । गलकोट क्षेत्रका धेरैजसो नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि अहिलेसम्म हाटबजार सञ्चालन भएको थिएन । यही असोज २८ गते हाटबजार तथा तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि किसान हर्षित भएका छन् । एउटै गाउँमा धेरैको सङ्ख्यामा किसानले व्यावसायिक तरकारी खेती गर्दै आए पनि बजार र उचित मूल्य नपाउँदा समस्या भोग्दै आएको उहाँले बताउनुभयो ।

गाउँमा रासायनिक मल प्रयोग नगरि जैविक तरकारी र फलफूल उत्पादन गर्दै आएको उहाँको भनाइ छ । अब बजार तथा ग्रामीण क्षेत्रको उत्पादनले सहजै बजार पाउने श्रीषले विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेको भन्दै बजार नपाउँदा कुहिएर नष्ट हुँदा लाखौँ रुपैयाँ नोक्सानी भोग्नुपरेको स्मरण गर्नुभयो । ‘नगरपालिका र सहकारीले हाम्रा लागि ठूलो काम गरेको छ, धेरै किसान बजार नपाएर बिचलित हुनुभएको थियो, कयौँ कृषि पेसा छाडेर विदेश पनि जानु भयो, अहिले गर्दै आउनुभएका कुनै पनि किसानले आफ्नो पेसा छाड्न पर्दैन कि भन्ने आशा गरेका छौँ’, श्रीषले भन्नुभयो, ‘हाम्रो मुख्य समस्या बजार र मूल्यको थियो, गाउँमा धेरै बिक्री गर्न सकिँदैन, बजारमै ल्याउनुपर्छ, बजारमा ल्याउँदा गाडीको भाडा नै नउठ्ने डर हुन्थ्यो, अब सहज हुने भयो ।’

गलकोट–१ का किसान रवीन्द्रबहादुर बुढाथोकी अब आफूजस्ता किसान ठगिन नपर्ने बताउनुभयो । नगरपालिका र गौमुखी सहकारीले तरकारी तथा फलफूल बिक्रीका लागि मूल्यसूची बनाएको हुँदा उपभोक्ता तथा किसान कोही पनि ठगिन नपर्ने उहाँ बताउनुहुन्छ । गलकोट क्षेत्रमा लामो समयदेखि कृषि गर्दै आएका किसानले अब राज्य भएको अनुभूति गर्न पाउने बुढाथोकीको भनाइ छ । उहाँले भन्नुभयो, ‘अब किसानले जति उत्पादन गरे पनि खेर नजाने भो, बिक्री हुँदैन कि भनेर चिन्ता गर्ने दिन गए, हामीले जति उत्पादन गरे पनि हाटबजारमा ल्याएर बेच्ने छौँ, बजार–बजारमा पनि गएर बिक्री गर्न पाइने छ, बिक्री नभएको तरकारी र फलफूल सहकारीले राख्ने र त्यसको मूल्य हामीहरूलाई उपलब्ध गराउने छ, अब हामीहरू उत्साहका साथ उत्पादनमा लाग्ने छौँ, पहिले नै यो काम भएको भए धेरै मान्छे व्यावसायिक तरकारी खेतीमा लाग्ने थियौँ ।’

गौमुखी कृषि विकास सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीले आफूहरूले विसं २०६४ देखि थालेको प्रयास अहिले सफल भएको बताउनुभयो । सहकारीमार्फत किसानको समस्या समाधान गर्न, उनीहरूलाई प्रविधिसँग जोड्न र आयआर्जनलाई बलियो बनाउनका लागि लामो समयदेखि काम गर्दै आएको अध्यक्ष खत्रीको भनाइ छ ।

अघिल्लो वर्षदेखि नगरपालिकासँग सहकार्यमा जग्गा व्यवस्थापन गरी हाटबजार र सङ्कलन केन्द्र निर्माणपछि सञ्चालन गरेको उहाँले बताउनुभयो । हाटबजार हप्तामा एक दिन सञ्चालन गर्ने र बिक्री नभए किसानको तरकारी तथा फलफूल प्रत्येक दिन आफूहरूले राखिदिने खत्रीले बताउनुभयो । किसानको बिक्री नभएका वस्तु प्रशोधन गरी विभिन्न परिकार बनाउने उहाँको भनाइ छ । प्रशोधनका लागि मेशिनसमेत खरिद गरिसकेको उहाँ बताउनुहुन्छ ।

‘अब किसानका कुनै पनि उत्पादन नोक्सान हुने छैनन्, उहाँहरूले बेच्न सकेको बेच्नुहुन्छ, नसकेको हामीले राखेर उहाँहरूलाई रकम दिन्छौँ, उहाँहरूले बेच्ने मूल्यभन्दा प्रतिकिलो पाँच रुपैयाँ बढी रकम उपलब्ध गराउँछौँ’, अध्यक्ष खत्रीले भन्नुभयो, ‘किसानहरू ठगिएको अवस्था थियो, दुःख गरेर उत्पादन गर्नेले उचित मूल्य पाएका थिएनन्, उपभोक्ताले पनि महँगोमा उपयोग गर्नु पर्थ्यो, किसानहरूले जति उत्पादन गर्नुहुन्छ, बिक्री भएन भनेर चिन्ता गर्नु पर्दैन, हामीहरूले उहाँहरूको उत्पादन राख्छौँ, अब किसानहरू उत्पादनमा लाग्नुपर्छ ।’

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले किसानलाई व्यावसायिक बनाउनका लागि हाटबजार सञ्चालनमा ल्याइएको बताउनुभयो । यहाँका हरेक घरमा फलफूल तथा तरकारी उत्पादन हुने र बिक्री नहुँदा यतिकै खेर गइरहेको हुँदा नगरपालिकाभित्रका सबै नागरिकको आयआर्जनमा टेवा पुर्‍याउनका लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरी सहकारीसँग सहकार्यमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।

हाटबजार सञ्चालनसँगै नगरपालिकाले किसानलाई उन्नत जातका बिउबिजन वितरण, आवश्यक अनुदान, तालिम तथा पराशर्म र प्राविधिक सहयोग गर्दै आएको प्रवक्ता भण्डारी बताउनुहुन्छ । हरेक किसानको तरकारीमा नगरपालिकाले प्रतिकिलो र तीन थप गरिदिने उहाँको भनाइ छ ।

हाटबजार र तरकारी सङ्कलन केन्द्रमा ११ कक्ष निर्माण गरिएको छ । यी कक्षमा पालिकाका ११ वटै वडाका किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि राखिने भण्डारीले बताउनुभयो । अब गाउँ–गाउँबाट सबै किसान बजारमा आउनु नपर्ने उहाँ बताउनुहुन्छ । गाउँमा उत्पादन भएको वस्तुलाई सङ्कलन गरी एक जना कर्मचारीमार्फत हाटबजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाएको भण्डारीको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया