इजरायलबाट थप एक विद्यार्थीको शव काठमाण्डाै आइपुग्याे

 कात्तिक ५, २०८० आइतबार १६:१४:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – प्यालेस्टिन विद्रोही समूह हमासको आक्रमणमा परि इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये चार जनाको शव काठमाण्डाै आइपुगेकाे छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल आइपुगेकाे हाे । न्यौपानेको शव गए राति आइपुगेकाे थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ बजेर ४० मिनेटमा नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गएकाे असोज २० गते हमास समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएकाे थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उनीहरू गएकाे भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको 'अर्न एन्ड लर्न' कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

त्यस आक्रमणमा परि ज्यान जाने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । त्यही आक्रमणमा परि कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् ।

आक्रमणमा परि मृत्यु भएका बाँकी छ जना नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलबाट फर्किन चाहनेमध्ये दुई सय ५४ जना विद्यार्थीलाई नेपाल ल्याएको थियो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया