मुस्ताङबाट २३ करोड रुपैयाँकाे च्याङ्ग्रा निकासी

 कात्तिक ६, २०८० सोमबार १०:१३:१७ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - मुस्ताङबाट दशैँ पर्वलाई लक्षित गरेर २३ करोड रुपैयाँ बराबरको च्याङ्ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, काठमाण्डौ लगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैँका लागि पाँच हजार ७५५  च्याङ्ग्रा निकासी भएको जानकारी दिनुभयो । 'जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,' उहाँले भन्नुुभयो 'कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड दुई लाख मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ ।'

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उहाँले बताउनुभयो । गएकाे असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो। 

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशुु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्ग्रा खरीद गर्नका लागि व्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए । 

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन् । गएकाे वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । 

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको छोसेरका कृषक आङगेल गुुरुङले बताउनुुभयो । तीन देखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरुले लेकाली जडीबुटीहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुुभव छ । दशैँ तिहारमा च्याङ्ग्राको मासुुको खपत बढी हुुने गर्छ ।
 
मुुस्ताङको बारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । ६५ वटा  ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घरघरमा च्याङ्ग्रा पालेका छन् । हिमचुुतुुवा, ब्वासो र जङ्गली कुुकुर च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । 

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्ग्राको २५ हजार रुपैयाँ थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयात नभएकाले मुुस्ताङको च्याङ्ग्राको मूल्य बढेको व्यापारी बाबुराम बानियाँले बताउनुुभयो । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया