कागबेनीका बाढी प्रभावितको सहयोगका लागि ८० लाख रुपैयाँ सङ्कलन

 कात्तिक ६, २०८० सोमबार १९:४:१४ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गएको साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतःस्फूर्त सहयोग उठिरहेको हो । कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट अहिलेसम्म झन्डै ८० लाख रुपैयाँ सङ्कलन भएको छ ।

‘देशविदेशमा रहनुभएका मुस्ताङवासीबाट सहयोग आउने क्रम जारी छ, स्थानीय सङ्घ–संस्था पनि राहत अभियानमा जोडिएका छन्’, उहाँले भन्नुभयो, ‘पालिका, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।’

सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताउनुभयो । बाढीबाट पूर्णरूपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उहाँको भनाइ छ । ‘बाढी आउनासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री तहबाटै कागबेनीको पुनःनिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ ।’

बाढीबाट सामान्य क्षति भएका घरको मर्मत स्थानीय आफैँले पनि गरिरहेका संयोजक गुरुङले बताउनुभयो । बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ । ‘तीन वटै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीन÷चार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’

गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनःनिर्माण र बाढी प्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरू आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताउनुभयो । बाढीमा घरबास गुमाउनुभएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रम लिइरहनुभएको छ । ‘घरगोठ, जग्गा सबै बाढीले लग्यो, अब आफ्नो भन्ने केही पनि छैन’, उहाँले भन्नुभयो, ‘सरकारले हाम्रो दुःख देखोस्, बाढी प्रभावितलाई केही व्यवस्था होस् ।’

सङ्घ–संस्था, छिमेकी र आफन्तबाट सहयोग पाएको भन्दै छिट्टै सरकारबाट पनि राहत रकम आउनेमा विश्वस्त रहेको गुङले सुनाउनुभयो । हेर्दाहेर्दै कागबेनी क्षेत्र बगरमा परिणत भएकोमा उहाँ दुःखी हुनुहुन्छ । ‘अहिलको जस्तो बाढी कहिल्यै आएको थिएन, धन्न हामी जोगिऔँ, धन सम्पत्तिको भने धेरै ठूलो क्षति भयो’, उहाँले भन्नुभयो, ‘पर्यटक र तीर्थयात्रीको चहलपहल हुने ठाउँ अहिले उराठलाग्दो बनेको छ ।’

कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाले पवित्र तीर्थस्थलका रूपमा लिन्छन् । मुक्तिनाथ क्षेत्र, उपल्लो मुस्ताङ र डोल्पा जाने सङ्गमस्थल पनि हो कागबेनी । कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया