तीन वर्षपछि ‘बी’ डिभिजन लिग आउने माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
कला र गला थपियो, तर ‘भाग्य’को तला थपिएन । यूट्युमा उनले गाएका गीत ‘हिट’ छन् । मोडलिङमा पनि उत्तिकै ‘फिट’ छन् । तर सांगीतिक क्षेत्रमा ‘हिट’ र ‘फिट’ भए पनि पैसा र पहुँचमा उनी ‘अनफिट’ भए । त्यसैले सुदूर र मध्यपश्चिमका संगीत पारखीहरुबीच चर्चित गायक नवराज विष्ट घरखर्च चलाउन र संगीतको तिर्खा मेटाउन काठमाडौंमा मजदुरी गर्न बाध्य छन् ।
गीत संगीतविना बाँच्नै नसक्ने उनले पहिले बाँच्नकै लागि होटलमा भाँडा माझे । गीतको एल्बम निकाल्ने रकम जुटाउन भारतका गल्लीगल्ली धाए । पाएसम्मका सबै काम गरे । अहिले काठमाडौंमा ज्यामी काम गर्छन् । दिनभरी ढुंगा, माटो र बालुवा खेलाएर कमाएको पैसाले घर खर्च चलाउँछन् । आफ्नो र परिवारको बिहान बेलुकाको भोक मेटाएपछि बचेको पैसाले गीत संगीतको भोक मेटाउँछन् ।
नयाँ भवन बनिरहेको ठाउँ कीर्तिपुरमा एकदिन एक युवा काम खोज्दै पुगे । सुपरभाइजर कृष्ण भट्टराईले उनको परिचय र घर ठेगाना सोधे । ती युवाले आफ्नो नाम नवराज विष्ट र घर दार्चुला, अनि आफू गायक पनि भएको बताए । ढुंगामाटो र बालुवा बोक्ने काम खोज्दै आएका उनी गायक हुन् भनेर सुरुमा भट्टराईलाई पत्यार लागेन ।
ज्यामी चाहिएकाले नवराजले त्यहाँ काम पाए । बिहानै काम गर्न आउने उनी ढुंगा, माटो र बालुवा बोक्दै गीत गुनगुनाउँथे । गीत त प्रायः सबैजसोले गुनगुनाउँछन्, तर नवराजको स्वर फरक र विशेष थियो । कुनै गायकले संगीतविना गीत गाएजस्तै सुनिन्थ्यो उनको स्वरमा ।
उनको स्वर सुनेर सुपरभाइजर भट्टराईलाई एकछिन बसेरै गीत सुन्न मन लाग्यो । नवराजलाई काम रोकेर गीत गाउन आग्रह गरे । नवराजले मीठो स्वरमा देउडा गीत सुनाए । उनको गीत सुनेर सँगै काम गर्ने अरु मजदुरसँगै भट्टराई पनि दंग परे । आफूले डेढ दर्जनभन्दा धेरै गीत गाएको र यूट्युबमा समेत गीत हेर्न सकिने नवराजले बताए ।
भट्टराईले उतिखेरै यूट्यब हेरे । यूट्युबमा नवराज विष्टको स्वरमा चर्चित देउडा र लोकदोहोरी गीत रहेछन् । यूट्युबका गीत भएका चाहिँ अर्कै हुन् कि जस्तो पनि लाग्यो । तर बालुवा बोक्दै गीत गाउने नवराज र यूट्युबका गीत गाउने नवराजको स्वर ठ्याक्कै मिल्यो । अनि सुपरभाइजर भट्टराईलाई पत्यार लाग्यो, ज्यामी काम खोज्दै आएका यी युवा साँच्चिकै गायक रहेछन् ।
नवराज विष्ट, सुदूर र मध्यपश्चिमका गीतसंगीत पारखीका लागि चर्चित नाम हो । २५ वर्षीय यी किशोरले डेढ दर्जनभन्दा बढी देउडा तथा लोकदोहोरी गीत गाएका छन् । केही गीतमा आफैंले मोडलिङ गरेका छन् । यति धेरै गीत गाउने मान्छे कुनै सांगीतिक कार्यक्रममा व्यस्त हुनुपर्ने हो । तर पहुँच र पैसा नभएपछि यी गायक ज्यामी काम गर्न बाध्य छन् ।
नवराजलाई सानैदेखि गीतमा रुची थियो । घाँसदाउरा र गोठालो जाँदा गीत गुनगुनाउँथे । उनको गीत सुनेर साथीहरु दंग पर्थे । एक दिन स्कुलमा साँस्कृतिक कार्यक्रम भयो । साथीहरुले उनलाई गीत गाउन आग्रह गरे । सुरुमा उनलाई सबैको अघिल्तिर उभिएर गीत गाउन लाज लाग्यो । लजाई लजाई गीत सुने । उनको स्वर सुनेर सबै मन्त्रमुग्ध भए । सबैले उनको स्वरको प्रशंसा गरे ।
‘त्यसपछि मलाई आँट आयो, गीत गाएर प्रगति गर्छु भन्ने लाग्यो’ कीर्तिपुरको नयाँ भवन बनिरहेको ठाउँमा बालुवा बोक्दै गरेका विष्टले भने । उनलाई एल्बम निकाल्ने रहर लाग्यो । तर गीत रेकर्ड गर्न र एल्बम निकाल्न धेरै पैसा चाहिन्थ्यो । घरको आर्थिक अवस्थाले यो सम्भव थिएन । एसएलसी दिएपछि उनी पैसा कमाउन भारतको बेंगलोर गए ।
भाँडा माझ्नेदेखि पाएको सबै काम गरे । अलिकति पैसा जुटेपछि फर्किए । अनि त्यही पैसाले एल्बम निकाले । सुदूर र मध्यपश्चिमका चर्चित गायक भानुभक्त जोशीले उनलाई साथ दिए । जोशीकै शब्द र नवराजको स्वर रहेको देउडा भाकाको गीत मध्य र सुदूरपश्चिममा चर्चित भयो । गीतकारहरुले उनलाई खोज्न थाले । देउडासँगै लोकदोहोरीमा पनि नवराज जम्न थाले ।
गीतले आफ्नो क्षेत्रमा चर्चा कमाउन थालेपछि नवराज काठमाडौं आए । तर काठमाडौंको सांगीतिक भीडमा संघर्ष गर्न सजिलो थिएन । पहुँच र पैसा नभई केही हुन्न भन्ने थाहा पाएका उनले पहिले पैसा कमाउने उपाय खोज्न थाले । कीर्तिपुर सल्यानस्थानमा भाडामा जग्गा लिए र तरकारी खेती थाले ।
उनी अहिले पनि तरकारी खेती गर्छन् । श्रीमती र भाइ पनि सँगै छन् । तरकारी खेती श्रीमतीको भरमा छोडेर उनी र भाइ ज्यामी काम गर्छन् । ‘कमाएको पैसाले पहिले त घरखर्च चलाउने हो, अनि बचेको पैसा गीतमा लगानी गर्छु’ नवराजले भने ।
गीत गाएर मात्र बाँच्न सजिलो छैन भन्ने उनलाई थाहा छ । तर संगीतको लतमा डुबेका उनी गीत नगाईकन बाँच्नै सक्दैनन् । अलिकति पैसा हुनासाथ रेकर्डिङ स्टुडियो पुगेर गीत गाईहाल्छन् ।
‘विदेशमा बस्ने साथीहरुले गीत रेकर्ड गरेर पठाइदे भनेर आग्रह गर्छन्, दुईचार पैसा पनि पठाइदिन्छन्, उनीहरुको लागि पनि गाउँछु’ विष्टले सुनाए ।
बाटोमा हिँड्दा पनि उनी गीत गाउँछन् । गीत गाउँदा संसार जितेजस्तो लाग्छ । गीत संगितलाई निरन्तरता दिन उनी जे काम पनि गर्न तयार छन् । भन्छन्, ‘सबैका आआफ्नै महत्वपूर्ण आवश्यकता हुन्छन्, मेरो महत्वपूर्ण आवश्यकता चाहिँ संगीत हो । संगीतको लागि जे पनि गर्न तयार छु। पहिले भाँडा मांझेंं, अहिले ज्यामी काम गर्छु ।’
आफूजस्तै गीत गाउने धेरै कलाकारले सांगीतिक क्षेत्रमै लागेर गुजारा चलाएका छन् भन्ने नवराजलाई राम्रोसँग थाहा छ । गीतसंगीतको नशाबाट फुत्कनै नसेका उनलाई पनि गीत गाएरै खान पुगे हुन्थ्यो भन्ने लाग्छ । तर भनेजस्तो भएको छैन ।
‘कतै कार्यक्रममा गएर गीत गाउन पाए त कमाई हुन्थ्यो नि, तर हामीजस्तो पहुँच नभएकालाई कसले बोलाउँछ र’ नवराजले दुखेसो पोखे । उनको स्वरको तारिफ गर्ने त धेरै छन्, तर गीत गाएरै गुजारा चल्ने बाटो देखाइदिने चाहिँ कोही छैनन् ।
‘गीत गाएरै गुजारा चल्ने भए त यस्तो काम किन गर्थें र’ नवराजले टाउको कन्याउँदै भने, ‘खर्चले पुग्ने भए सांगीतिक क्षेत्रमा ठूलो फड्को मार्न सक्छु भन्ने आँट छ ।’
उनलाई काम दिने सुपरभाइजर कृष्ण भट्टराईलाई पनि एउटा कलाकारले ज्यामी काम गरेको देख्दा नरमाइलो लाग्छ । ‘हुन त काम ठूलो सानो भन्ने हुँदैन, ज्यामी काम पनि सबैले गर्दा हुन्छ, तर उहाँजस्तो कलाकारले सांगीतिक क्षेत्रमै लागेर गुजारा चलाउन सकेको भए हुन्थ्यो जस्तो लाग्छ’ भट्टराईले भन्नुभयो, ‘सुदूर र मध्यपश्चिमका चर्चित कलाकार यसरी ढुंगामाटो र बालुवा बोक्न बाध्य भएको देख्दा दुःख लाग्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।