नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

 कात्तिक ९, २०८० बिहीबार १२:२४:४२ | रासस
unn.prixa.net

तस्बिर : रासस

चितवन - वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालनमा आएका हुन् । 

असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम हप्तादेखि दशैँको अवसर पारेर मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो ।

पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भिड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम हप्तासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने उहाँको भनाइ थियो । 

बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ  । 'अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्', अध्यक्ष मल्लले  भन्नुभयो, 'दशैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।'

विसं २०७६ सालमा एउटा बाट शुरु भएको मोटरबोट अहिले सानाठूला गरी ३२ वटा सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा मोटरबोटले सेवा शुरु गरिसकेकामा १४ वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् । 

मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् ।

एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै, साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

नदी किनारमा घुम्न आउने प्रायजसाे आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया