पोखराको प्रसिद्ध तालबाराही मन्दिर पुनः निर्माण थालियो

 कात्तिक ९, २०८० बिहिबार १३:३२:५५ | रासस
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका–६ बैदाममा फेवातालको मध्यभागमा रहेकाे प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित एक कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो ।

उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण कार्य जुटेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि एक करोड ४५ लाख रुपैयाँ लाग्ने जानकारी दिनुभयो ।

मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताउनुभयो ।

पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीकाे पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी  त्यहाँ पुग्ने गर्छन ।

मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले दिनुभयो ।

अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापनका लागि नौ करोड रुपैयाँको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो ।

चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड रुपैयाँ छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, बगैँचा, होमस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुङ्गेधारा, डुङ्गाघाट गुरुयोजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । 

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् ।

प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख रुपैयाँ जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रुपैयाँ रहेको र नपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ ।

फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिक्मतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो ।

तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया