पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
धादिङ – धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू–बनोटको टाकुरामा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिने भैरवी मन्दिरमा चाडपर्व र बिदाको दिन दर्शनार्थीको घुइँचो नै लाग्छ ।
पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएका बेला मासु खान मन लाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल जानुभयो । सुँगुरको सिकार गरेर फर्किनुभयो । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप्टो परेर बस्नुभयो । भैरवलाई भित्र पस्न दिनुभएन । प्रसव पीडामा छट्पटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ । अहिले यो स्थानमा भैरवी र भैरवको छुट्टाछुट्टै दुई वटा मन्दिर छ ।
नेपालमा राम शाहले विसं १६६६ मा स्थापना गरेको आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । राम शाहले स्थापना गरेका कुरा लालमोहरमा लेखिएको छ । तर स्पष्ट बुझिँदैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेको र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ ।
‘मन्दिरमा पूजासहित बडादशैँ र चैते दशैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा रहिआएको छ । बडादशैँको नवमीका दिन सुँगुरको बलि दिँदै आएको छ,’ श्रेष्ठ भन्नुहुन्छ, ‘मन्दिर आइपुग्न सदरमुकामबाट १३ किमी कालोपत्र र पाँच किमी कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । गाडीबाट मात्र नभइ हाइकिङ गर्ने पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’
विसं २०७२ को भूकम्पले भत्किएपछि अहिले मन्दिरको पुनःनिर्माण भइरहेको छ । विसं २०७६ फागुन २३ गते मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो । १३ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर निर्माणको काम शुरु गरिएको छ । हालसम्म मन्दिरमा चार करोड रुपैयाँ बराबरको पुनःनिर्माण भइसकेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।
मन्दिरमा खानेपानी तथा शौचालयको पनि राम्रो व्यवस्था छ । सिसी क्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ । मन्दिर आइपुग्ने भक्तजन प्राकृतिक सुन्दरताको मनोरम दृश्यमा लोभिने गरेका छन् । जिल्ला सदरमुकाम धादिङबेसीबाट १८ किमीको दुरीमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।