जग्गा भाडामा लिएर गरेको उखु खेतीबाट मासिक ५० हजारभन्दा धेरै आम्दानी

 कात्तिक १०, २०८० शुक्रबार २०:३१:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले जग्गा भाडामा लिएर गरेको उखु खेतीबाट मासिक ५० हजारभन्दा धेरै आम्दानी गर्दैै आउनु भएको छ ।

वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका रानाले टे«न्च प्रविधिमा उखु खेती गरी यस्तो आम्दानी गर्नु भएको हो । उहाँले चार बिघा जमिन भाडामा लिएर उखु खेती गर्नुभएको छ । 

‘पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो,’ उहाँले भन्नुभयो, ‘एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली लगाउँछु, चार बिघा जग्गा लिजमा लिएर उखु खेती गरेको छु ।’ चार बिघा जग्गामा एक हजारदेखि एक हजार सात सय क्विन्टलभन्दा बढी उखु उत्पादन हुने गरेको छ ।

‘उत्पादित उखु चिनी मिलले खेतबाटै गाडीमा ढुवानी गरिदिने गरेको छ । पैसा बैङ्क खातामा मिलले नै हालिदिन्छ,’ उहाँले भन्नुभयो, ‘उखु लगाउने, गोडमेल गर्ने, सिँचाइ गर्ने, मलखादको व्यवस्था गर्ने, कटान गरी मुठा बाँधेर राख्ने काम मात्रै मैले मजदुर लगाएर गर्ने गरेको छु ।’

मजदुरको ज्याला, सिँचाइ, मलखाद, जोताइमा गरी एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको उहाँले बताउनुभयो । घरमै बसी बसी आम्दानी हुँदै आएकाले यस खेतीलाई आधा दशकदेखि निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो  ।

उहाँका अनुसार एकपटक लगाएपछि तीन वर्षसम्म उखुलाई सामान्य मिहिनेत गरी आम्दानी लिन सकिन्छ ।   ‘वैदेशिक रोजगारीबाट धेरै कमाई गर्न सकिन्छ भनेर नै गाउँकै साहुबाट तीन लाख रुपैयाँ कर्जा निकालेर वैदेशिक रोजगारीमा कतारमा दुई वर्ष बसेँ,’ उहाँले भन्नुभयो, ‘मासिक ५० हजार रुपैयाँ तलब पाइन्छ भन्ने दलालको प्रलोभनमा परेर त्यसतर्फ लागेको थिएँ, जब काम गर्न कम्पनीमा गए, त्यसपछि मात्रै महिनाको २० हजार रुपैयाँ तलब पाइने थाहा पाएँ ।’

मासिक रुपमा पाइने तलबमा खाना खर्च ब्यहोर्नु पर्ने भएकाले १५ हजार जति मात्रै बचत हुने गरेको विगत सम्झँदै उहाँले बताउनुभयो । तलबको केही रकम बचत गरी साहुको ऋण तिर्न भ्याएपछि घर फर्केको उहाँले उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा गएको भए पनि घर फर्कंदा रित्तो हात फर्केको तीतो अनुभव उहाँले सुनाउनु भयो ।

कम्पनीमा इलेक्ट्रोनिकसम्बन्धी काम सिकेकाले हाउस वाइरिङको काम गर्न थालेपछि केही रकम जम्मा गरी व्यावसायिक रुपमा उखु खेती गरेको उहाँको भनाइ थियो  ।

‘उखु खेतीसँगै हाउस वाइरिङको काम पनि गर्छु,’ उहाँले भन्नुभयो, ‘श्रीमतीले सिलाइकटाइको काम गर्नुहुन्छ, उखु खेतीको आम्दानीसँगै श्रीमान्श्रीमती दुवैले गर्ने कामबाट वर्षमा तीन लाख रुपैयाँ जति अतिरिक्त आम्दानी हुन्छ ।’

‘विदेशमा भन्दा स्वदेशमै काम गरे परिवारसँगै बसेर सहज रुपमा आम्दानी लिन सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसका लागि धैर्य, इच्छाशक्ति र लगनशीलताको खाँचो छ, व्यवसायमा थोरै लगानी गरेर पनि धेरै कमाउन सकिन्छ ।’

राना जस्तै कालागौँडी गाउँका ७० भन्दा बढी किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । उखु खेती हुने गाउँका रुपमा परिचित कालागौँडीका किसानको वार्षिक आम्दानी तीन लाख देखि १२ लाख रुपैयाँसम्म रहेको वडाअध्यक्ष नवल सिंह राना बताउनुभयो । ‘उखु खेती गर्दा बीउ, कृषि औजार, मलखाद र सिँचाइमा अनुदानको व्यवस्था गरिए उखुको उत्पादन बढ्न सक्छ,’ उहाँले भन्नुभयो, ‘किसानको आम्दानी बढछ, वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै रोक्न सकिन्छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया