राष्ट्र सङ्घका महासचिव अन्नपूर्ण आधार शिविर आउने खबरले पर्यटन व्यवसायी उत्साहित

 कात्तिक ११, २०८० शनिबार १५:१४:१० | रासस
unn.prixa.net

कास्की – विजयादशमीको टीका लगाएसँगै पदयात्राका लागि पुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले भरिएका छन् ।

विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण निकै बढिरहेको छ ।

विजयादशमीपछि पदमार्ग क्षेत्र आन्तरिक पर्यटकले भरिएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुुभयो । ‘शुक्रवार मात्रै झन्डै चार सय जनाको सङ्ख्याका आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा आएका छन्’, उहाँले भन्नुुभयो, ‘पदमार्ग क्षेत्रका अन्य स्थानका होटेल भरिभराउ छन् ।’

पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । पर्यटकीय नगरि पोखरालाई मुख्य आधार बनाएर पदमार्ग क्षेत्रको घान्द्रुकसम्म गाडीबाट पुुगेका पदयात्रीहरू त्यहाँबाट तीन दिनको पदयात्रा गरेपछि अन्नपूर्ण आधार शिविर पुग्दछन् । थप लामो समय पदयात्रा गर्न चाहनेहरू पोखरा–बालुुङ राजमार्गअन्तर्गत कास्कीको नयाँपुलबाट पनि पदयात्रा गर्ने गर्दछन् ।

नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकाससँगै पछिल्ला वर्षमा यस क्षेत्रको पदयात्राका लागि देशका विभिन्न भागबाट स्वदेशी पर्यटक पदयात्राका लागि आउने गरेको सचिव गुरुङले बताउनुभयो ।

हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुभयो । उहाँका अनुसार विदेशी पर्यटकका साथै पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण पदयात्रा पर्यटनमा बढिरहेको छ ।

अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढी मात्रामा आउने गरेका छन् । जथाभाबी बाटो खन्ने क्रमले समग्र पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएको वास्तविकतामा अन्नपूर्ण आधार शिविरसहित मर्दी हिमाल, पुन हिल, मिलेनियम ट्रेकलगायतका पदमार्ग पर्यटकको आकर्षक गन्तव्यमा पर्दै गएका छन् ।

जथाभाबी बाटो खन्ने नाममा पदमार्ग छोटिँदै जानु पदयात्रा पर्यटनका लागि चुनौतीको विषय भएको जनाउँदै अध्यक्ष पन्थीले भएका पदमार्गको संरक्षणसँगै वैकल्पिक पदमार्गको खोजी गरिनु अपरिहार्य भएको बताउनुभयो ।

फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्व प्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गर्नुभएको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । अन्नपूर्ण हिमालको गरिमा र महत्त्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताउनुभयो । 

अहिलेसम्म तीन  संस्करणसम्मको अन्नपूर्ण म्याराथन सम्पन्न भइसकेको जनाउँदै उहाँले त्यसबाट अन्नपूर्ण आधार शिविरिको पदयात्रामा स्वदेशी एवम् विदेशी पर्यटकको थप आकर्षण बढिरहेको बताउनुभयो । 

आजभन्दा साढे चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकोमा अहिले भने सबै किसिमका सुविधा सम्पन्न होटलले पर्यटकको स्वागत गरिरहेका छन् ।

अन्नपूर्ण आधार शिविरमा पहिलो पटक २०३८ सालमा पर्यटकलाई लक्षित गरी यस क्षेत्रका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत गरी २६ वटा होटल सञ्चालनमा आएका थिए । पछिल्ला वर्षमा थप आठ वटा होटल थपिएको बताउँदै सचिव गुुरुङले होटेलको सङ्ख्या थपसँगै भएका होटेलमा पनि पर्यटकस्तरीय पूर्वाधार थपिएको जानकारी दिनुुभयो ।

धार्मिक एवम् सांस्कृतिक रूपले महत्त्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ ।

आइतवारदेखि नेपालको औपचारिक भ्रमण गर्न लाग्नुुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरमा पनि आउने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको सचिव गुरुङले बताउनुभयो ।

‘संयुक्त राष्ट्र सङ्घका महासचिवजस्तो अतिविशिष्ट पाहुना अन्नपूर्ण आधार शिविरमा आउने कुरा हाम्रा लागि ठूलो गौरवको विषय हो’, उहाँले भन्नुभयो, ‘उहाँको आगमनले विश्वमाझ फैलिएको अन्नपूर्ण हिमाल र अन्नपूर्ण आधार शिविरका साथै समग्र यस क्षेत्रको महत्त्व आउँदा दिनमा अझै चुलिएर जाने विश्वास लिएका छौँ ।’

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया