राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

 कात्तिक १२, २०८० आइतबार ६:३३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ ।

राति आइपुग्नुभएका उहाँलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँको कार्यालयमा शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज बेलुका सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा भोलि उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । पर्सि मङ्गलवार दिउँसो ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लाग्नुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कुटनीतिक क्षेत्रमा महत्त्वकासाथ हेरिएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया