तनहुँकाे व्यास नगरपालिकाले छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट दिने

 कात्तिक १३, २०८० सोमबार १०:९:१८ | रासस
unn.prixa.net

तनहुँ - व्यास नगरपालिकाले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तीलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने भएकाे छ । 

नगरपालिकाको नीति तथा कार्यक्रममा 'लैङ्गिक भेद्भाव मुक्त व्यास नगर' बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिएको हो । व्यास नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सिप विकास गरी आत्मनिर्भर बनाउनका लागि 'उपप्रमुख महिला सीप विकास कार्यक्रम' सञ्चालन गर्न लागेको छ ।

'आत्मनिर्भर छोरी सशक्त व्यास नगर' अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी जनजाति दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको अध्ययनमा सहयोग गर्ने नीति लिएको हो । 

उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण लगायतका सचेतनामूलक कार्यक्रम गरिने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने कक्षा १२ सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदानको व्यवस्था मिलाइएको छ । 

व्यास नगरपालिकामा स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पुर्याउने लक्ष्य नगरपालिकाको रहेको उहाँले बताउनुभयो । महिलाद्वारा सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै 'महिलासँग उपप्रमुख कार्यक्रम' अन्तर्गत गर्भवतीको पोषणका लागि सहयोग गर्ने कार्यक्रम रहेको छ । 

व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरी हिंसामा परेका महिलालाई कानुनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाउने योजना रहेको छ । उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराइ पठनपाठनमा सहजीकरण गर्न लागेको व्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरैले बताउनुभयो । 

दलित, सीमान्तकृत लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सिप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गर्ने योजना नगरपालिकाले लिएको छ । व्यासका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्ने र अनुभव आदान प्रदान गर्ने कार्यक्रम ल्याइएको छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया