पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
चितवन - देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती शुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ मा रहेकाे चक्रवर्ती सामुदायिक वनले जङ्गलमा फलफूलका बिरुवा रोप्न थालेको हो ।
जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जङ्गलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो ।
'मैले बाँदर रोक्न केही विकल्प देखेको छैन, कि त तारबार लगाएर निश्चित ठाउँमा राख्नुपर्यो होइन भने सबै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्नुपर्छ', उहाँले भन्नुभयो, 'हामीले त फलफूलका बिरुवा रोप्न शुरु गरेका छौँ ।' १० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको उहाँले बताउनुभयो । यसलाई विस्तार गर्दै लैजाने योजना रहेको गुरुङले बताउनुभयो ।
देवघाट क्षेत्रमा कमलादेवि सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवि सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन् । यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ । यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ ।
एक दशकदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ । बाँदरको त्रास बढ्दै गएकाले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन् । यहाँका केही बाँदरलाई दुई वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो । त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजनासमेत बनेको थियो । तर, सफल भएको थिएन ।
'गाउँपालिकाबाट दुई वर्षअघि आहार खानपिनका लागि बाँदर पार्क बनाउने निर्णय भएको थियो । त्यसले पनि भएन । बाहिर लगेर व्यवस्थित गर्नुपर्यो भनेर केही बाँदर लगियो । त्यो पनि भएन । अध्यक्ष गुरुङले भन्नुभयो, 'बाँदर नियन्त्रणको काम केन्द्रबाट नै पहल गर्नुपर्छ ।' देवघाटका किसानलाई बाँदरबाट खेती जोगाउनसमेत मुस्किल छ ।
'बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने', देवघाट–५ देउपुरकी कल्पना थापामगरले भन्नुभयो, 'आधा बाँदरलाई आधा आफूलाई हो ।' उहाँले बाँदरको समस्या दीर्घकालीनरुपमा समाधान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।